१९ मंसिर २०८२, शुक्रबार

करण केसीको विस्फोटक ब्याटिङमा नेपालद्वारा रोमाञ्चक जित

प्रकाशित मिति :  3 June, 2025 5:36 am


काठमाडौँ । करण केसीको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले स्कटल्याण्डमाथि ऐतिहासिक एक विकेटको जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा रोमाञ्चक जित दर्ता गरेको हो ।

२९७ रनको चुनौतीसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा प्रमुख भूमिका खेलेका करण केसीले आठौं नम्बरमा ब्याटिङ गर्दै ४१ बलमा ३ चौका र ४ छक्का सहित ६५ रनको विस्फोटक पारी खेले ।

यसअघि नेपालको सुरुवात आक्रामक रह्यो । ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौका प्रहार गर्दै ५३ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३३ बलमा २० रन बनाए । त्यसपछि आएका भीम सार्कीले ४८ बलमा ४० रन बनाउँदै पारीलाई सम्हालेका थिए । कप्तान रोहित पौडेलले पनि जिम्मेवार पारी खेल्दै ३७ रन बनाए ।

मध्यक्रममा गुल्शन झाले आक्रमक ब्याटिङ गर्दै ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन जोडे । तर दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आरिफ शेखको ब्याट आज चल्न सकेन । अन्तिम समयसम्म खेल तानिए पनि करण केसीको संयम र आक्रामकता मिसिएको खेल प्रदर्शनले नेपाललाई रोमाञ्चक जित दिलायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टेयरले ७२ बलमा १२ चौका र एक छक्का सहित सर्वाधिक ८० रन बनाए । फिन्ले म्याकरिथले ५५ रन बनाउँदै टेयरलाई राम्रो साथ दिएका थिए ।

नेपालका बलरहरूमा रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिन सफल भए । यो जितसँगै नेपाल अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ भने पराजित स्कटल्याण्ड चौथो स्थानमा यथावत् रहेको छ ।



प्रतिक्रिया दिनुहोस !