२० मंसिर २०८२, शनिबार

विपद् न्युनीकरणका लागि तयारीमा सरकार- उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  3 June, 2025 1:17 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सरकार आवश्यक तयारीमा जुटेको बताएका छन् ।

मंगलवार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले नदी तथा खोलाको सफाइ, बाँध निर्माणलगायत पूर्वतयारीका कामहरू सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको स्पष्ट पारे ।

उनले अधिकार सम्पन्न वागमती सभ्यता एकाइमार्फत राजधानी क्षेत्रका प्रमुख नदीहरूमा सफाइ अभियान सुरू भइसकेको जानकारी दिए । “समयमै खोलानाला सफा गर्ने, बाँध लगाउने, पूर्वसूचना प्रणाली बलियो बनाउने काममा सरकार लागिपरेको छ,” मन्त्री सिंहले भने ।

अचानक आइपर्ने बाढीपहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपबाट जनधनको क्षति कम गर्न चालु आर्थिक वर्षदेखि नै सानो भए पनि तत्काल उपयोग गर्न सकिने बजेट विनियोजन गरिएको जानकारी उनले दिए ।

मन्त्री सिंहले विगतका अनुभवबाट सिकेर रणनीतिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिंदै स्थानीय तह, संघीय सरकार र अन्य सरोकारवाला निकायहरूबीच समन्वय आवश्यक रहेको बताए ।

सरकारले आउँदो वर्षात्को समयमा सम्भावित जोखिम कम गर्न आपतकालीन पूर्वतयारी, जनचेतना अभिवृद्धि र पूर्वसूचनाको प्रभावकारी प्रवाहमा समेत ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !