२० मंसिर २०८२, शनिबार

पूर्वराष्ट्रपति भण्डारीको धारणा-“शिक्षा युवामैत्री र गुणस्तरीय हुनुपर्छ”

प्रकाशित मिति :  3 June, 2025 6:14 pm


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेकोमा जोड दिएकी छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित हुनु नहुने धारणा व्यक्त गरिन् । उनका अनुसार शिक्षा यस्तो हुनुपर्छ जसले युवालाई समृद्ध राष्ट्र निर्माणमा सक्रिय, जिम्मेवार र सक्षम बनाओस् ।

राष्ट्रको समृद्धि र प्रगति शिक्षाको गुणस्तरसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै पूर्वराष्ट्रपतिले शैक्षिक क्षेत्रको व्यापक सुधार अपरिहार्य रहेको बताइन् ।

उनले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको सन्दर्भ उल्लेख गर्दै वैश्वीकरणका अवसरहरू सदुपयोग गर्न र चुनौतीहरू सामना गर्नसक्ने जनशक्ति निर्माणको लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहेको धारणा राखिन् ।

विद्यालय तथा शैक्षिक संस्थामा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने वातावरण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्। शिक्षामा लगानी बढाउनु अहिलेको आवश्यकता भएको उनले स्पष्ट गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल प्राकृतिक स्रोत र साधनले धनी देश भए पनि ती स्रोतको समुचित उपयोग गर्न नसक्दा समृद्धिका थुप्रै अवसर गुमाइरहेको टिप्पणी गरिन् । उनले यस्ता स्रोतहरूको सही सदुपयोगमार्फत मात्रै देशले अपेक्षित विकासको गति लिन सक्ने विश्वास व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !