जातीय छुवाछूतविरुद्ध दृढतापूर्वक उभिनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत र विभेदजस्ता सामाजिक अपराधविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण राष्ट्र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक, नैतिक र मानवीय गरिमाको खिल्ली उडाउने यस्ता विभेदकारी प्रवृत्तिहरूको अन्त्य गर्न सबै तहका व्यक्ति र संस्थालाई गहिरो प्रतिबद्धता जनाउन आग्रह गरेका हुन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै जातीय विभेदविरुद्धको संघर्ष सामाजिक न्यायको आधार हो भन्ने स्पष्ट सन्देश दिएका छन् ।
राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ, “समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो राष्ट्रिय सङ्कल्प हो । यसका लागि विविधताबीचको एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्दै सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्नुपर्छ ।”
उनले जातीय भेदभावविरुद्ध संघर्षमा सामाजिक जागरण र समभावको विकासका लागि सबै जातजाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपतिले तीन तहका सरकार, राजनीतिक दलहरू, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अझ बढी संवेदनशील बन्न आह्वान गरेका छन् ।
सन्देशमा भनिएको छ, “सोच, शैली, प्रथा र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता र मेलमिलापबाट जातीय छुवाछूत र भेदभावको अन्त्य सम्भव छ। छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले यस दिशामा सबैलाई प्रेरणा मिलोस् ।”
नेपाल सरकारले वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको स्मरणमा हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ ।








