नेपालको ऊर्जा भविष्य : सन् २०३५ सम्म २८ हजार मेगावाट स्वच्छ ऊर्जाको लक्ष्य
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शून्य कार्बन उत्सर्जन गर्ने दीर्घकालीन लक्ष्यका साथ स्वच्छ ऊर्जातर्फ सघन रूपमा अगाडि बढिरहेको बताएका छन् ।
सोमवार फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र स्वीकार गर्दै मन्त्री खड्काले सरकारको नीति वातावरणमैत्री र दिगो ऊर्जामुखी रहेको बताए ।
उनले जलवायु परिवर्तनको असर नेपालका हिमाली क्षेत्रमै स्पष्ट देखिन थालेको उल्लेख गर्दै, “हिमालहरू पग्लिन थालेका छन्, यो केवल भूगोलको सवाल होइन, सिङ्गो अस्तित्वको चुनौती हो,” भने । यस्ता असरलाई न्यूनीकरण गर्न सरकारले हरित ऊर्जामा प्राथमिकता दिँदै कानुनी तथा नीतिगत संरचना तयार पारिरहेको उनले जानकारी दिए ।
उनका अनुसार सरकारले सन् २०३५ भित्र २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ, जसले नेपालको ऊर्जा रुपान्तरणमा मात्र नभई भारतबाट हुने कोइला आयातमा समेत कमी ल्याउनेछ ।
मन्त्री खड्काले स्वदेशी नवीकरणीय स्रोतको उपयोगले वातावरणीय दायित्व मात्र पूरा गर्ने नभई आर्थिक स्वावलम्बन र ऊर्जा निर्यातको सम्भावना समेत खोल्ने बताए ।
कार्यक्रममा सहभागी फाउण्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण वायु प्रदूषण तीव्र हुँदै गएको र त्यसले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बताइन् । उनले प्रदूषणको मूल कारणमध्ये एक कोइला प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ ऊर्जालाई बढावा दिन सरकारलाई आग्रह गरिन् ।
नेपालले ग्लोबल कार्बन न्यूनीकरण पहलमा सशक्त भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा मन्त्री खड्काको भनाइले आगामी ऊर्जा रणनीतिमा हरित सोचलाई थप प्राथमिकता दिइएको संकेत गर्छ ।








