प्लास्टिक प्रदूषण अन्त्यका लागि सबै एकजुट हुनुपर्छ-मुख्यमन्त्री आचार्य
दाङ । विश्व वातावरण दिवस–२०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गरी स्वच्छ र सन्तुलित वातावरण निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार जारी गर्नुभएको शुभकामना सन्देशमार्फत् मुख्यमन्त्री आचार्यले विज्ञान र प्रविधिको प्रगतिसँगै उत्पादन भएको प्लास्टिकको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर चुनौती खडा गरेको उल्लेख गरे ।
उनले प्लास्टिकजन्य फोहोरले माटो, जल, वनस्पति र जीवजन्तुमा प्रत्यक्ष असर पारिरहेको र यसले पारिस्थितिक सन्तुलनमा दीर्घकालीन प्रभाव पार्ने खतरा बढेको बताए ।
“प्लास्टिक प्रदूषणको अन्त्य गरौं” भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको वातावरण दिवसले नागरिकहरूलाई वातावरणप्रति थप जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम गर्न नीतिगत र व्यवहारिक उपायहरू अवलम्बन गरिरहेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न प्रदेश सरकारले अनुकूलन रणनीतिहरू अघि बढाइरहेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई प्रोत्साहन गर्ने र दिगो जीवनशैली विकास गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानले प्रत्याभूत गरेको “स्वच्छ वातावरणमा बाँच्न पाउने हक” व्यवहारमा कार्यान्वयन गर्न सबै नागरिक सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै भने, “सबल प्रदेश निर्माणका लागि वातावरणीय संरक्षण अपरिहार्य छ।”
उनले सबै सरकारी, गैरसरकारी, सामुदायिक र निजी क्षेत्रबीच सहकार्य र समन्वयमार्फत मात्र वातावरणीय लक्षहरु हासिल गर्न सकिनेमा विश्वास व्यक्त गर्दै जैविक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेशमा दिगो विकासको आधारमा वातावरण संरक्षण गर्न सकियोस् भन्ने शुभकामना दिए ।








