पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जली योगपीठलाई सरकारी हदबन्दी छुटको जग्गा उपलब्ध गराउने र सोही जग्गा पुनः बिक्री गर्न दिने निर्णय प्रक्रियामा अनियमितता देखिएको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उच्च स्रोतका अनुसार नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्बाट पतञ्जलीलाई आयुर्वेद अस्पताल तथा जडिबुटी अनुसन्धान केन्द्रका लागि हदबन्दी छुटको जग्गा खरिद गर्न स्वीकृति दिइएको थियो तर सो स्वीकृतिपछि दुई महिनाभित्रै उक्त जग्गा तेस्रो पक्षलाई बेच्न मिल्ने निर्णय समेत मन्त्रिपरिषद्बाटै गराइएको थियो ।
यही प्रक्रियालाई भ्रष्टाचार संहिताअनुसार गैरकानुनी र फाइदा पुर्याउने उद्देश्यले गरिएको कार्यको रूपमा आयोगले व्याख्या गरेको छ ।
अख्तियारले यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको संलग्नता पनि अध्ययन गरिरहेको जनाइएको छ । जग्गा हदबन्दी नियमावली विपरीत गरिएका निर्णय तथा सरकारी स्रोतको दुरुपयोग भएको भन्दै आयोगले मुद्दा अगाडि बढाएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल भने यसअघि नै आफूले कुनै गैरकानुनी काम नगरेको स्पष्ट पार्दै आएका छन् । तथापि, विशेष अदालतको फैसलाले मात्रै यस विषयमा कानुनी निष्कर्ष दिनेछ ।








