२२ मंसिर २०८२, सोमबार

पूर्वराजा समर्थकको आन्दोलन अर्थहीन : सभापति देउवा

प्रकाशित मिति :  5 June, 2025 5:06 pm


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकहरूले गर्ने प्रदर्शनलाई अर्थहीन भन्दै त्यसले कुनै राजनैतिक प्रभाव नपर्ने धारणा व्यक्त गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले राजावादी आन्दोलन तुहिसकेको भन्दै गणतन्त्रविरोधी गतिविधिका रूपमा यस्ता प्रदर्शनहरूलाई जनताले अस्वीकार गरिसकेको उल्लेख गरे ।

“पूर्वराजा समर्थकले आन्दोलन गर्नु अब निरर्थक भइसक्यो,” देउवाले भने, “जनताको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्रको विरोध गरिने कुनै पनि प्रयास स्वीकृत छैन ।”

सभापति देउवाले हालै गृहमन्त्रीको राजीनामाको माग गर्दै आएको प्रतिपक्षी दलको धारणा तर्कहीन रहेको टिप्पणी गर्दै संसद् अवरोध नगर्न आग्रह गरे । “गणतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबै दल जिम्मेवार हुनुपर्छ,” उनले थपे ।

उनी जनकपुरधाम आगमनका क्रममा कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा सहभागी भएका हुन् । सभापति देउवा भोलिसम्म धनुषाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !