सङ्घीय संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि छलफल हुने
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि निर्धारण गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सो प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस गर्नुहुने कार्यसूची रहेको छ ।
उता, राष्ट्रियसभाको बैठकमा पनि आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहनेछ । सरकारको नीति तथा कार्यक्रमलगत्तै पेस गरिएको बजेटको विभिन्न पक्षमा सांसदहरूले सुझाव तथा आलोचना गर्ने क्रम जारी छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्ताव गरेको छ । बजेटमाथिको छलफलले नीति, प्राथमिकता र खर्चको प्रभावकारिताबारे संसद् र जनताबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।








