वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताएका छन् ।
डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । उनले महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गरे ।
मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताए ।उनले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गरे । उनले हरेक क्रियाकलापहरू वातावरणमैत्री हुनु आवश्यक रहेको बताए ।








