महासचिव गुरुङको आरोपः बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गरेका हुन् । राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उनकाे भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताए ।
“बजेट अग्रगामी बजेटको रूपमा आएको छैन । बजेट यथास्थितिवादी बजेटको अवस्थामा रहेको छ । मुुलुकको स्रोत साधनको हिसाबले राजश्व जति संकलन हुनुपर्ने हो त्यति हुन सकेको छैन । र बजेटको आकार अत्यन्तै ठूलो आकारमा आएको छ । राजश्व संकलन अत्यन्तै न्यून छ । राजश्व चुहावटको समस्या छ । अनियमितताको समस्या छ,”उनले भने ।
महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाए । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उनको आरोप छ । उनले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताए । उनले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गरे।








