थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताएका छन् ।
जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताएका हुन् ।
उनले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताए । उनले राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताए ।
“राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ । अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर । जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला । त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो । अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ,” उनले भने ।
सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए ।








