कांग्रेस नेतृत्वलाई शेखर कोइरालाको प्रश्न-महाधिवेशन समयमै किन हुँदैन ?
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन चार वर्षभित्रै हुनुपर्ने संवैधानिक दायित्वलाई उलङ्घन गर्न नहुने भन्दै त्यसको स्पष्ट जवाफ माग गरेका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वले मंसिरमा महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै पार्टीका पदाधिकारीहरूलाई जवाफदेही बनाउन कार्यकर्तालाई आग्रह गरे ।
कोइरालाले कांग्रेसको विधानअनुसार चार वर्षमा एक पटक महाधिवेशन अनिवार्य रहेको स्मरण गराउँदै भने, “केही असामान्य घटना नहुँदा नहुँदै पनि महाधिवेशन रोकिएको छ । किन ? कसको आदेशमा ? के कारणले ?” उनले थपे, “कांग्रेस नेतृत्वमा जवाफ दिने क्षमता र ईमान्दारी हुनु आवश्यक छ। महाधिवेशन जस्तो संवैधानिक अभ्यासलाई टार्न खोज्नु कांग्रेसको भविष्यलाई संकटमा पुर्याउनु हो ।”
उनले कार्यकर्ताहरूलाई पनि नेतृत्वको निर्णयमाथि प्रश्न गर्न नहिचकिचाउन आग्रह गरे । “नेता भनेको भगवान् होइन, नेतालाई पनि प्रश्न गर्नुपर्छ । प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुन्छ,” उनले कटाक्ष गरे । उनले कार्यकर्तालाई “तपाईंहरू कसैको दास होइन” भनेर नेतृत्वप्रति निर्भीक बन्न आह्वान गरे ।
डा. कोइरालाले कांग्रेसको रणनीतिक कमजोर अवस्थालाई लिएर पनि चिन्ता व्यक्त गरे । “हामी ठूलो पार्टी हौँ तर आज हामी कहाँ छौँ ?” उनले भने, “तीन वर्षदेखि कांग्रेस सरकारको चाबी बोक्न सक्ने स्थितिमा छैन । सत्ता र निर्णय क्षमताको हिसाबले कांग्रेस पछि परिरहेको छ ।”
महाधिवेशन रोकिएको प्रश्नले कांग्रेसभित्र पुनः नेतृत्वको पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामाथि बहस चर्किएको छ । कोइरालाले महाधिवेशन समयमा नगर्नु नेतृत्वको कमजोरी मात्र नभई लोकतन्त्रप्रतिको अनादर भएको समेत संकेत गरे ।
उनको भनाइले कांग्रेसभित्रको असन्तुष्टिपूर्ण स्वरलाई प्रतिनिधित्व गर्दै आगामी दिनमा महाधिवेशनको मिति, प्रक्रिया र पारदर्शिता राजनीतिक बहसको केन्द्र बन्ने संकेत गरेको छ ।








