२० मंसिर २०८२, शनिबार

समृद्धिका लागि नेकपा (एमाले) लाई पहिलो शक्ति बनाउन महासचिव पाेखरेलकाे आह्वान

प्रकाशित मिति :  7 June, 2025 5:17 pm


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि नेकपा एमालेलाई पहिलो शक्ति बनाउनु आवश्यक रहेको बताएका छन् ।

चितवनमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको एघारौँ जिल्ला अधिवेशनअन्तर्गत प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विचारको शक्तिबाट मात्र समाज र राष्ट्रको निर्माण सम्भव हुने स्पष्ट पारे । “जब हामीले सही विचारलाई समाजमा स्थापित गर्न छाड्छौं, तब अराजकता मौलाउँछ”, उनले भने, “गलत विचारहरूले पोल्न थालेपछि मात्र समाज परिवर्तनको आवश्यकता महसुस हुन्छ ।”

उनले नेकपा एमालेलाई उज्यालो भविष्यको सपना देखाउने पार्टीका रूपमा चित्रण गर्दै नागरिकलाई यथार्थका आधारमा आशा र प्रेरणा दिनुपर्नेमा जोड दिए ।

पार्टीमा कुनै समस्या छैन
महासचिव पोखरेलले नेकपा एमालेभित्र आन्तरिक कुनै समस्या नरहेको स्पष्ट पार्दै पार्टी विचार, दृष्टिकोण र गन्तव्यमा एकमत रहेको बताए । साथै, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सशक्त र स्पष्ट रहेको भन्दै हालै आएको बजेट पनि एमालेकै दबदबा र नीति–दृष्टिकोण अनुसार आएको दाबी गरे ।

“राष्ट्रको ढुकुटी कमजोर भएकाले अपेक्षाअनुसारको बजेट ल्याउन कठिन भएको हो”, पोखरेलले भने, “तर, विगतमा एमाले नेतृत्वमा अर्थतन्त्रमा आएको सकारात्मक गति अहिले पनि क्रमशः देखिन थालेको छ ।”

हालै चर्चामा रहेको सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको संलग्नता पुष्टि भइसकेको दाबी गर्दै पोखरेलले भने, “उहाँले टेलिभिजन छाडेपछि पनि आफ्नी श्रीमती र ससुराको नाममा चेक काटेको प्रमाण छ, तर एमालेलाई बदनाम गर्ने प्रयास हुँदैछ, जुन गलत हो ।”

एमालेमाथि चार शक्ति आक्रामक
महासचिव पोखरेलले हाल नेकपा एमालेविरुद्ध चारवटा शक्तिहरू—राजावादी, माओवादी, अराजकतावादी र राष्ट्रविरोधी विदेशी शक्तिहरू योजनाबद्ध ढंगले आक्रामक रूपमा प्रस्तुत भइरहेको बताए । यस्ता शक्ति र भ्रमहरूको सशक्त प्रतिवाद गर्नु अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ थियो ।

उनले जातीय राज्य, ‘एक मधेस, एक प्रदेश’ को नारा दिने, र संघीयता विरोधी धारहरू समेत एमालेविरुद्ध गोलबद्ध भएको उल्लेख गरे । पोखरेलले नेपालमा दलहरूले जम्मा १५ वर्षमात्र शासन गर्न पाएको भन्दै बाँकी समय राजतन्त्रको शासन रहेको स्मरण गराए । “लोकतन्त्रले केही पनि गरेन भन्नेहरू भ्रममा छन्, यस्ता चट्केहरूको भ्रममा जनताले पर्नु हुँदैन,” उनले प्रष्ट पारे ।

महासचिव पोखरेलले ‘मिसन २०८४’ लाई सफल पार्न नेकपा एमालेलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित जनस्तरसम्म पुग्ने संवाद र सम्पर्क अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । “समृद्धिको बाटोमा देशलाई अघि बढाउनु छ भने एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनु पर्छ”, उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !