१९ मंसिर २०८२, शुक्रबार

आईसीसी विश्वकप लिग-२ : नेपाल आज स्कटल्यान्डसँग पुनः भिड्दै, लगातार तेस्रो जितको लक्ष्य

प्रकाशित मिति :  8 June, 2025 7:34 am


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट स्टेडियममा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुने तालिका छ ।

लिग–२ को चौथो चरणअन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाल यसअघि दुई खेल खेलिसकेको छ । पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार प्रदर्शन गरेको छ ।

आजको खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । टोलीले हालसम्म उत्कृष्ट लयमा प्रदर्शन गरिरहेको छ भने युवा खेलाडीहरूको योगदान उल्लेखनीय देखिएको छ ।

अर्कोतर्फ, घरेलु टोली स्कटल्यान्ड पहिलो खेलमा नेपालसँगको हारको बदला लिन मैदान उत्रने तयारीमा छ। उनीहरू आफ्नै मैदानमा सशक्त प्रदर्शन गर्दै श्रृंखलामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छन् ।

नेपालका लागि कप्तान रोहित पौडेलको नेतृत्व, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी लगायतका खेलाडीको प्रदर्शन निर्णायक हुन सक्ने अपेक्षा गरिएको छ ।

त्रिकोणात्मक सिरिजको यो खेल नेपाल र स्कटल्यान्ड दुवैका लागि महत्त्वपूर्ण मानिएको छ, जसले अंकतालिकामा उक्लिन निर्णायक भूमिका खेल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !