२० मंसिर २०८२, शनिबार

प्रतिनिधिसभा बैठक आज २ बजेबाट सञ्चालन हुने सभामुख घिमिरेको घोषणा

प्रकाशित मिति :  9 June, 2025 2:49 pm


काठमाडौँ । केही दिनदेखि अवरुद्ध रहँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेदेखि सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेले संसद् बैठक सञ्चालनका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभएको हो ।

गणतन्त्र दिवसको अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख घिमिरेले बैठक सञ्चालन सम्बन्धी जानकारी दिए ।

उनले भने, “सदन अवरुद्ध हुनुपर्ने नै होइन, तर भयो । प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ। सामान्यतया ११ बजे वा १ बजे राखिने बैठकलाई आज विशेष परिस्थिति अनुसार २ बजेदेखि राखिएको हो । मलाई आशा छ, अब संसद् नियमित रुपमा चल्छ ।”

हाल संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमाथि छलफलको महत्त्वपूर्ण चरण सुरु हुन लागेको छ। तर पछिल्ला केही दिनदेखि विभिन्न दलका असहमतिका कारण बैठक नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । यसै सन्दर्भमा सभामुखले सांसद संख्या सीमित गर्दै विधिअनुसार बजेटमाथिको छलफल टुङ्ग्याउने तयारी गरिएको जानकारी दिए ।

“नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ,” उनले भने, “विधिअनुसार बजेटमाथिको छलफल समयभित्रै सक्नुपर्छ। त्यसका लागि कार्यसूची पनि फेरबदल गरिनेछ ।”

संसद् सञ्चालनबारे सभामुखको यो घोषणालाई प्रतिनिधिसभा सुचारु गर्ने दिशामा सकारात्मक संकेतका रूपमा हेरिएको छ। अब प्रतिनिधिसभाको बैठकले आर्थिक नीति तथा कार्यक्रम, बजेटमाथिको छलफल र अन्य विधेयकमाथि समयमै निर्णय लिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !