लगातार दोस्रो जितले नेपालले नेदरल्याण्ड्समाथि दबदबा कायम राख्यो

काठमाडाैँ । नेपाली क्रिकेट टोलीले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सलाई लगातार दोस्रो पटक पराजित गर्दै त्रिकोणात्मक शृङ्खलामा आफ्नो पकड मजबुत बनाएको छ । फोर्टहिल क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले १६ रनको महत्त्वपूर्ण जित निकालेको हो ।
नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सको ब्याटिङ पंक्ति ४९.२ ओभरमै धराशायी भयो । २२० रनमै समेटिएको नेदरल्याण्ड्सका लागि कुनैपनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन्, जसमा नेपालका बलरहरूको सामूहिक प्रदर्शन प्रभावशाली रह्यो ।
तीन/तीन विकेट लिँदै नन्दन यादव र सन्दीप लामिछानेले विपक्षीलाई कमजाेर सावित गरिदिए । ललित राजवंशीले दुई विकेट लिए भने करण केसी र कुशल भुर्तेलले एक/एक विकेट लिएर जित पक्का गरे ।
टिम स्पिरिट र ब्यालेन्स प्रदर्शन
नेपालले टस गुमाएर ब्याटिङको मौका पाएको खेलमा टप अर्डर र मिडल अर्डरको समन्वयले टिमलाई सम्मानजनक स्कोरमा पुर्यायो । आरिफ शेखले शानदार ८४ रन बनाउँदै इनिङ्सको मेरुदण्ड बने । कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले जिम्मेवार ३५–३५ रन बनाएर टिमलाई स्थिरता प्रदान गरे । नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै बनाएको २३६ रनको स्कोर बलिङले मजबुत बनाइदियो ।
नेदरल्याण्ड्स संघर्षरत
नेदरल्याण्ड्सका लागि वास्ली बारेसी (३६), स्कट एडवार्ड (३०), मिचेल लेभिट (२७) र क्रोएस (२२) ले केही योगदान दिए पनि समग्र प्रदर्शन असन्तुलित देखियो । नेपालका बलरहरूको विविध आक्रमण सामना गर्न नसक्दा टोलीले लक्ष्यसम्म पुग्न सकेन।
नेदरल्याण्ड्सका बलरहरूमध्ये पल भान मिकेरनले चार विकेट लिएर नेपालको स्कोर नियन्त्रणमा राख्ने प्रयास गरे । माइकल लेभिटले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट हात पारे ।
लगातार दोस्रो जितसँगै नेपाली टोलीको आत्मविश्वास बढेको छ। बलिङ–ब्याटिङ दुवै पक्षमा सामूहिक प्रयास देखिनु आगामी खेलहरूमा सफलताको संकेत हो ।
नेपालले अब केवल जित मात्रै होइन, निरन्तरता र स्थायित्वको खोजी थालेको देखिन्छ। युवा खेलाडीहरूबाट प्रदर्शन आउनु र कप्तानको नेतृत्वमा टीम स्पिरिट देखिनु नेपाली क्रिकेटको उकालो यात्रा हो ।