फौजदारी न्यायमा अनुसन्धान र अभियोजनबीच समन्वय अपरिहार्य : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध अनुसन्धान र अभियोजन प्रक्रियामा अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलबीच घनिष्ठ समन्वय अपरिहार्य रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री लेखकले आपराधिक न्याय प्रणालीलाई प्रभावकारी बनाउन दुबै पक्ष एक आपसमा निरन्तर संवादमा रहनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले सीमित स्रोतसाधनबीच पनि प्रहरी प्रशासनले उल्लेखनीय काम गरिरहेको भन्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रहरीतर्फ बजेटमा उल्लेख्य वृद्धि गरेको जानकारी दिए ।
“सबैभन्दा बढी जिम्मेवारी बोकेको सुरक्षा निकाय सीमित स्रोतसाधनका भरमा क्रियाशील छ,” गृहमन्त्रीले भने, “सरकारले यसप्रति गम्भीर ध्यान दिँदै आएको छ र आगामी दिनमा अझ बढी दिनेछ।”
गृहमन्त्री लेखकले अपराधको स्वरूप जटिल बन्दै गइरहेको सन्दर्भमा अनुसन्धान र अभियोजन प्रक्रियामा विज्ञान र प्रविधिको प्रयोग अनिवार्य भएको बताए । उनले अनुसन्धानलाई प्रभावकारी र भरपर्दो बनाउन प्रविधिको अधिकतम उपयोग आवश्यक रहेकोमा जोड दिए । “विज्ञान प्रयोग हुनु राम्रो हो, तर त्यो प्रयोग सटीक र न्यायअनुकूल हुनुपर्छ,” उनले स्पष्ट पारे ।
उनका अनुसार प्रविधि प्रयोग गर्दा प्रमाण संकलनमा विशेष सतर्कता अपनाइनुपर्छ ताकि प्रमाणको विश्वसनीयता कायम रहन सकोस् । “फौजदारी न्यायमा पीडितको अनुभूति सबैभन्दा केन्द्रीय पक्ष हो,” मन्त्री लेखकले भने, “कुनै अपराधबाट पीडित भएको व्यक्तिले न्याय पाएको महसुस गर्न सक्नुपर्छ, त्यही फौजदारी न्यायको सार हो।”








