१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीको प्रेरक सन्देश : “नेपाल कहिल्यै मातहत थिएन, हुँदैन पनि”

प्रकाशित मिति :  13 June, 2025 3:12 pm


काभ्रे । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल सधैं स्वतन्त्र राष्ट्रको रूपमा उभिएको र उभिइरहने स्पष्ट घोषणा गरेका छन् ।

काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै उनले नेपाल सानो भए पनि कहिल्यै कसैको अधीनमा नपरेको र नपर्ने देश भएको गौरवपूर्ण इतिहास स्मरण गराए ।

“नेपाल कहिल्यै उपनिवेश बनाइनसक्ने मुलुक हो,” प्रधानमन्त्री ओलीले भने, “हाम्रा पुर्खाहरूले तोपसँग चक्कु लिएर स्वाधीनता जोगाएका थिए । आज हामी उही परम्पराको उत्तराधिकारी हौं, आत्मगौरवले भरिएको राष्ट्र हौं ।”

उनले ‘नेपाली बहादुर’ को पहिचान मात्रले पुग्दैन भन्दै आजको युगमा ‘सीपयुक्त, दक्ष र शोधमैत्री नेपाली’ को परिचय थपिनुपर्नेमा जोड दिए ।

“अब नेपाल इमान्दार, मेहनती र सभ्य जनशक्तिको देशका रूपमा चिनिनुपर्छ,” उनले भने, “हामी रोजगार खोज्ने होइन, रोजगारी दिने राष्ट्र बन्नुपर्छ ।”

विज्ञान, अनुसन्धान र इतिहासको समन्वय
प्रधानमन्त्री ओलीले नेपाली इतिहासमा रिसर्च संस्कृति पहिले नै रहेको उल्लेख गर्दै तुलसी, बरपीपल जस्ता वनस्पतिको औषधीय महत्व पहिल्यैदेखि नेपाली समाजमा ज्ञात रहेको उदाहरण प्रस्तुत गरे । “हामीकहाँ पूर्वजहरूको ज्ञान र अनुभवलाई आधुनिक अनुसन्धानसँग जोड्न सकिने प्रशस्त सम्भावना छ,” उनले भने, “विद्यार्थीहरू अनुसन्धान र नवप्रवर्तनमा लाग्नुपर्छ।”

शान्ति, सहअस्तित्व र समृद्धिका सन्देश बोकेर प्रधानमन्त्री ओलीले जल, वायु र आकाशसम्म पनि अशान्ति नहोस् भन्ने कामनासहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सार दर्शाए ।

शिक्षाको गुणस्तर र भूमिकाप्रति विश्वास
“हाम्रो शिक्षा प्रणाली कमजोर भएको भए, आज विश्वका प्रतिष्ठित अस्पतालहरूमा हाम्रा चिकित्सक र नर्सहरूले काम गर्न सक्ने थिएनन्,” प्रधानमन्त्री ओलीले भने, “त्यसैले शिक्षा गुणस्तरीय छ भन्ने प्रमाण त तिनै हुन्, जो विदेशमा उत्कृष्ट काम गरिरहेका छन् ।”

उनले दीक्षित विद्यार्थीहरूलाई ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीहरूको मौलिक समाधान खोज्न आग्रह गरे । साथै, जीवनमा घमण्ड त्यागेर मित्रता, सेवाभाव र शालीनता अँगाल्न आग्रह गर्दै, शिक्षाले व्यक्तिलाई जीवनमा सही मार्ग देखाउने प्रेरणा दिने बताए ।



प्रतिक्रिया दिनुहोस !