देशभर आंशिकदेखि साधारणतया बदली : केही स्थानहरूमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशका विभिन्न भू–भागमा मनसुनी वायुको प्रभाव बढ्दै गएको छ भने पश्चिमी तथा स्थानीय वायुले समेत मौसममा विविधता ल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भागहरूमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुन सक्रिय बनेको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा समेत भइरहेको जानकारी दिइएको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू–भागका थोरै स्थानहरू र अन्य भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन सुझाव दिइएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
यसैबीच, उच्च–पहाडी तथा हिमाली भू–भागमा वर्षा वा हिमपात सम्भावित भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। संभावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क र सजग रहन अनुरोध गरिएको छ।








