१९ मंसिर २०८२, शुक्रबार

भूमि पूजा र पहिचानको उत्सव : मगर समुदायको भूमे पर्व

प्रकाशित मिति :  15 June, 2025 12:20 pm


दाङ । लुम्बिनी प्रदेशका दाङ, रोल्पा, पाल्पा र रुकुमपूर्वका डाँडाकाँडाबाट यतिखेर एउटै धुन सुनिन्छ-भूम्या नाचको । गाउँका चौतारामा बालबालिकादेखि वृद्धसम्मले मौलिक पोसाकमा ताल मिलाएर नाचिरहेका छन् । हातमा झ्याली, ढोलक, मादल र पाँचथरी बाजा घन्किरहेका छन् । यो कुनै उत्सव मात्र होइन, यो मगर समुदायको पृथ्वीप्रतिको आस्था, परम्परा र पहिचानको अभिव्यक्ति हो-भूमे पर्व ।

पुर्खाको आस्था बोकेको चाड
भूमे पर्वलाई मगर समुदायले वर्षकै सबैभन्दा ठूलो चाडको रूपमा मनाउँछन् । जेठ १ गतेदेखि असार ५ गतेसम्म चल्ने यो पर्वको मुख्य उद्देश्य भूमिको पूजा गरेर प्राकृतिक प्रकोप टार्न, बाली फस्टाउन र समाजमा सुख, समृद्धि ल्याउने मान्यता हो ।

यो पर्व लेक र गाउँका देउता पूजाबाट सुरु हुन्छ । विभिन्न स्थानका चौतारामा भेला भएका मानिसहरू बिहानैदेखि बाजा बजाउँदै भूम्या नाचिरहेका छन् । युवादेखि वृद्धसम्म एउटै तालमा, एउटै उत्साहमा मिसिएर नाचिरहेका देखिन्छन् ।

पर्वको अन्त्यतिर, जेठ मसान्तमा लेकको पन्थ्यौली देउता पूजिन्छ। देवतालाई बलि चढाउने होइन, तर लेक पुगेकाहरूलाई खुवाउने चलन अनुसार भेडा काटिन्छ ।

पन्थ्यौली पूजा सकेपछि लेकमा फुलेका फूल र “मुर्ला” (सिंगो रूख) उखेलेर बेंसीको भूम्या चौतारोमा गाडिन्छ। यसले पर्वलाई थप भव्य र आस्थाले भरिपूर्ण बनाउँछ ।

लोक परम्परा र सामूहिकता
भूमे पर्वको सबैभन्दा अद्भुत पक्ष हो-यसको सामूहिकता । पुरुष, महिला, बालबालिका सबै मौलिक पहिरनमा सजिएर, मगर भाषामा गाउने गीत र पारम्परिक बाजाको तालमा दिनहुँ नाच्छन् ।

मगर समुदायका अगुवा तेजेन्द्र खाममगर भन्छन्, “यो चाडले हामीलाई हाम्रो पहिचान सम्झाउँछ, दुःख बिर्साउने र मन सन्तुष्ट हुने दिन हो यो ।”

हिउँदे बाली भित्र्याएपछि वर्षेबाली लगाउने यही समय हो । भूमि नरिसाउन्, बाली राम्रो होस्, वर्षा नियमित होस् र समाजमा सुख शान्ति रहोस् भन्ने कामनासहित पृथ्वीलाई मुख्य देवताका रूपमा पूजा गर्ने यो पर्व विशेष छ ।

मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा, नयाँ योजना र नयाँ सुरुवातको दिनका रूपमा पनि लिने चलन छ। भूमे पर्वको विधिपूर्वक सम्पन्नता असार ५ गते सामूहिक भोज खाएर गरिन्छ।

भूमे पर्व केवल सांस्कृतिक अभ्यास होइन, यो मगर समुदायको एकता, आत्मसम्मान र परम्परागत ज्ञानको संवाहक चाड हो । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मगर समुदायको भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै असार १ गते सार्वजनिक विदा दिइएको हो ।”

परम्पराको निरन्तरता र संरक्षणको खाँचो
आज भूमे पर्व आधुनिकताको तीव्र छायाँमा पनि सामुदायिक आत्मा बाँचिरहेको उत्कृष्ट उदाहरण हो तर परम्परागत चाडहरूलाई भावी पुस्तामा पुर्‍याउन संरक्षण र अभिलेखिकरणको खाँचो छ ।

मगर युवाहरूमा यो पर्वलाई पुनः ब्युँताउने लहर देखिनु सकारात्मक संकेत हो । विद्यालय, स्थानीय सरकार र समुदायको साझा प्रयासले यो चाड सांस्कृतिक सम्पदाको रूपमा अगाडि बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !