१९ मंसिर २०८२, शुक्रबार

आजकाे माैसम : देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  16 June, 2025 7:48 am


काठमाडौँ । हाल देशका पूर्वी तथा केही पश्चिमी भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने अन्य भागमा पश्चिमी तथा स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने उल्लेख गरिएको छ।

यस्तै, कोशी, मधेस र बागमती प्रदेशको एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि मौसम प्रभावित हुने देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज रातिको लागि पनि आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा राति मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, यी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ।

सामान्यतः जुन महिनाको दोस्रो सातादेखि मनसुन सुरु हुने नेपालमा यस वर्ष समयमै मनसुन प्रवेश गरेको छ। मौसमविद्हरूले स्थानीय बासिन्दा तथा कृषक वर्गलाई सतर्क रहनुका साथै नदी किनार, पहिरो सम्भावित क्षेत्र र हिमाली भेगका यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !