आजकाे माैसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ । देशका विभिन्न भागमा सक्रिय मनसुनी प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायु आंशिक रूपमा प्रभावकारी रहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। यस अवधिमा देशका सबै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ।
उक्त प्रदेशहरूका उच्चपहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै, ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ।
महाशाखाले मौसम प्रतिकूल रहेकाले सम्भावित बाढी, पहिरो र यातायात अवरोधजस्ता जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। कृषि, पर्यटन, स्वास्थ्य र यातायात क्षेत्रमा संलग्न सरोकारवालाहरूलाई मौसमअनुसार योजना बनाउन र सतर्क रहन समेत सुझाव दिइएको छ।








