१९ मंसिर २०८२, शुक्रबार

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  18 June, 2025 7:40 am


काठमाडौँ । देशका विभिन्न क्षेत्रमा सक्रिय मनसुनको प्रभावका कारण आज (असार ४) को दिनभरि मौसम बदली रहने तथा केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै भागहरूमा तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा सक्रिय मनसुन प्रणालीको प्रभाव देखिएको छ। साथै देशका पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुले समेत आंशिक प्रभाव पारिरहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय प्रणालीले पनि आंशिक असर पारिरहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। यस्तै, ती प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षा तथा बाढीपहिरोको जोखिम समेत रहन सक्ने सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। खासगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भू-भागहरूमा मौसम अझ बढी प्रभावित हुने देखिन्छ।

आज राति पनि देशभर मौसम बदलीदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने सम्भावना छ भने ती प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहिरो र बाढीको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। कमजोर जमिन, नदी किनार र भूस्खलन सम्भावित क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।



प्रतिक्रिया दिनुहोस !