१९ मंसिर २०८२, शुक्रबार

आज ‘विश्व दिगो ग्यास्ट्रोनोमी दिवस’ मनाइँदै

प्रकाशित मिति :  18 June, 2025 7:45 am


काठमाडौँ । आज विश्वभर ‘अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस’ विभिन्न चेतनामूलक कार्यक्रममार्फत मनाइँदैछ। खानेकुरा केवल स्वादका लागि मात्र नभई संस्कृति, कृषि, वातावरण र स्थानीय अर्थतन्त्रसँग गाँसिएको विषय हो भन्ने सन्देश दिन यो दिवसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

ग्यास्ट्रोनोमी भन्नाले परिकार बनाउने कला, विधि र खाद्य परम्परालाई जनाउने भए पनि ‘दिगो ग्यास्ट्रोनोमी’ले भने खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट र कसरी आएको हो भन्ने सवालदेखि उत्पादन, प्रशोधन, ढुवानी, खपत र फोहोर व्यवस्थापनसम्मको समग्र प्रणालीलाई समेट्छ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा हरेक वर्षको जुन १८ लाई अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवसको रूपमा मनाउने घोषणा गरेको थियो। दिवसको उद्देश्य भनेको सांस्कृतिक पहिचानसँग जोडिएका परिकारहरूलाई संरक्षण गर्नु, मौसमी तथा स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नु र वातावरणमैत्री तथा दीगो खाद्य प्रणालीको विकासतर्फ ध्यान केन्द्रित गर्नु हो।

संयुक्त राष्ट्रसंघको युनेस्को (शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन) र एफएओ (खाद्य तथा कृषि सङ्गठन) ले यो दिवसलाई प्रभावकारी बनाउने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्। युनेस्कोले स्थानीय खाना संस्कृतिलाई प्रोत्साहित गर्ने प्रयासस्वरूप हालसम्म ५६ सहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’को सूचीमा समावेश गरिसकेको छ।

कोरोना महामारीपछिको पुनर्निर्माणको दौर र जलवायु परिवर्तन, प्रदूषण तथा जैविक विविधता संकटले मानव अस्तित्वमै चुनौती खडा गरिरहेका वर्तमान सन्दर्भमा दिगो ग्यास्ट्रोनोमीको महत्व झनै बढेको छ। यसले न केवल स्थानीय खाद्य परम्परालाई जोगाउँछ, तर वातावरणमैत्री जीवनशैली, कृषिमा नवप्रवर्तन र कृषकहरूको जीवनस्तर सुधारमा समेत योगदान पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार नेपाल जस्तो विविधतायुक्त भूगोल र जातीय विविधता भएको मुलुकमा दिगो ग्यास्ट्रोनोमीको सम्भावना अत्यन्त उच्च छ। थकाली, नेवारी, मैथिली, लिम्बू, थारू लगायतका जातीय परिकारहरूलाई दिगोपनको दृष्टिकोणबाट संरक्षण र प्रवर्द्धन गर्न सक्ने हो भने तिनले न केवल संस्कृति संरक्षणमा सहयोग गर्नेछन्, पर्यटन, कृषि, रोजगारी र निर्यात प्रवर्द्धनमा समेत योगदान दिनेछन्।

यस दिवसका अवसरमा विभिन्न देशहरूले स्थानीय विद्यालय, कृषि संस्थान, होटल व्यवसायी, शेफहरू तथा किसानसँग सहकार्य गरी सचेतनामूलक क्याम्प, खाना प्रदर्शनी, कार्यशाला र सार्वजनिक बहसको आयोजना गर्दै दिगो खानपानप्रति चेतना बढाउने प्रयास गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !