दैलेखमा मिथेन ग्यासको विशाल भण्डारण : नेपालको ऊर्जा भविष्य उज्यालो बनाउने संकेत
जलजले क्षेत्रमा कम्तीमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको प्रमाणित
दैलेख । नेपालको ऊर्जा सुरक्षाका लागि ऐतिहासिक अवसर सावित हुनसक्ने सम्भावनासहित, दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डारण रहेको वैज्ञानिक पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभाग र चीन सरकारको संयुक्त सहकार्यमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले प्रारम्भिक रूपमा ग्यासको संरचना, परिमाण र सम्भावनाको स्पष्ट संकेत दिएको हो ।
चीनको जियोलोजिकल सर्भे कम्पनीले अन्वेषणपछि तयार गरेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा जलजले क्षेत्रमा कम्तीमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको खुलाइएको छ । यो केवल चारवटा सम्भावित कुइँकानहरुमध्ये पहिलो कुइँकानको नतिजा मात्रै हो । बाँकी तीन कुइँकानमा अझै ठूलो परिमाणमा ग्यास हुने अनुमान गरिएको छ ।
प्राविधिक प्रक्षेपणअनुसार जलजले क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास हुने सम्भावना छ, जसले अगामी ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई आत्मनिर्भर बनाउन सक्छ ।
दशकमै पहिलो वैज्ञानिक सफलता
दैलेखको जमिनले आफैबाट बल्ने ग्यास र चुहिने तरल पदार्थको जनश्रुति नौलो होइन तर वैज्ञानिक पुष्टि प्राप्त गर्नका लागि विगत ४० वर्षदेखि प्रयास हुँदै आएको थियो । विसं २०७८ वैशाख २८ गते सुरु गरिएको पहिलो ड्रिलिङ ४,०१३ मिटरको गहिराइसम्म पु¥याइएको थियो ।
नमुनाको परीक्षणमा मिथेन ग्यासको उच्च भण्डारण पुष्टि भएपछि नेपालका ऊर्जा अधिकारी र सरोकारवाला निकायहरू उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापित भन्छन्, “यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक ढङ्गले सम्पन्न गरिएको अन्वेषण परियोजना हो । प्रारम्भिक प्रतिवेदनले आशाजनक संकेत दिएको छ तर अझ विस्तृत परीक्षण आवश्यक छ ।”
चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन बुझाउनेछ र त्यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना छ ।
भारतको नाकाबन्दीपछि ऊर्जा आत्मनिर्भरतातर्फको मोड
वि.सं २०७२ मा भारतले लगाएको नाकाबन्दीपछि नेपालमा इन्धन संकट उत्पन्न भयो । त्यसले सरकारलाई स्वदेशी ऊर्जा स्रोततर्फ गम्भीर बन्न बाध्य बनायो । त्यही पृष्ठभूमिमा दैलेख फेरि राष्ट्रिय चासोको केन्द्रबिन्दुमा आयो । परिणामतः २०७५ माघमा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषण सम्झौतामा हस्ताक्षर भयो, जसले मात्र प्राविधिक प्रगति नभई रणनीतिक सन्देश पनि बोकेको थियो ।
स्मरणीय छ, दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास र चुहिने तरल पदार्थको वैज्ञानिक विश्लेषणले यो पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरिसकेको छ ।
अन्वेषण परियोजना : चीनको अनुदानमा नमूना परीक्षण
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित यो नमूना (पाइलट) परियोजनाको प्रारम्भिक लागत करिब २ अर्ब ५० करोड रुपैयाँ थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ भएको भए पनि परियोजनाले महत्वपूर्ण गति लिएको छ ।
नेपाल सरकारले ४५ रोपनी सरकारी जग्गा छुट्याएर अन्वेषणका लागि सहज बनाएको थियो । सडक, विद्युत् विस्तार र प्रशासनिक समन्वयमा पनि सरकारको सक्रियता देखिएको छ । न त स्थानीय जनप्रतिनिधिहरूबाट अवरोध भयो, न त प्रशासनिक संयन्त्रबाट असहयोग ।
रोजगारी, उद्योग र रणनीतिक आत्मनिर्भरता
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाका अनुसार अन्वेषण परियोजना पूरा भएपछिको उत्पादन, प्रशोधन र आपूर्ति श्रृंखलामा संलग्न हुने जनशक्तिका कारण स्थानीय तहमा रोजगारीको अवसर वृद्धि हुनेछ । ऊर्जा आपूर्तिको स्थायित्वले उद्योगमैत्री वातावरण निर्माणमा सहयोग पुर्याउने उनी बताउँछन् ।
प्रारम्भिक अनुमानअनुसारको भण्डारण पुष्टि भएमा नेपालले इन्धन आयातमा निर्भरता घटाउँदै स्वदेशी स्रोतबाटै ऊर्जा उत्पादन गर्नसक्ने अवस्था निर्माण हुनेछ । दीर्घकालीन रूपमा हेर्दा यो परियोजना ऊर्जा आत्मनिर्भरता, औद्योगिक विकास र राष्ट्रिय सुरक्षाको दृष्टिले रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण बन्ने देखिन्छ ।
अब के बाँकी छ ?
हालको प्रारम्भिक प्रतिवेदनले मात्र सम्भावनाको ढोका खोलेको हो तर अझै गुणस्तर मूल्यांकन, व्यावसायिक उत्पादनको आर्थिक सम्भाव्यता परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता कार्यहरू बाँकी छन्। ती पूरा भएपछि मात्रै व्यावसायिक उत्पादन सुरु हुनेछ ।
दैलेखको जलजले क्षेत्रको मिथेन ग्यासले नेपाली ऊर्जा भविष्यको उज्यालो संकेत गरिरहेको छ । यो परियोजना सफल भएमा नेपाल आयातमा निर्भर इन्धन अर्थतन्त्रबाट बाहिरिने दिशामा ठुलो छलाङ मार्नेछ ।
स्वदेशी स्रोतको परिचालनमार्फत रोजगारी, स्थानीय विकास र रणनीतिक स्वाभिमान पनि उच्च स्तरमा पुग्नेछ । नेपालका लागि यो केवल पेट्रोलियम अन्वेषणको परियोजना होइन, आत्मनिर्भरताको नयाँ आधारशिला बन्ने सम्भावना बोकेको ऐतिहासिक प्रयत्न हो ।








