विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानीमा चासो
काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी विस्तार गर्ने चासो देखाएको छ। बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको शिक्षा क्षेत्र सुधार र सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको हो।
मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनबीच भएको भेटमा विद्यालय शिक्षा सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली विकासका विषयमा केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा विश्व बैंकले नेपालमा विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा दुवै पक्षबीच सकारात्मक समझदारी बनेको उल्लेख गरिएको छ।
मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी दिँदै शैक्षिक पूर्वाधार विकास, आधारभूत सिकाइ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएक बताउनुभयो। उहाँले विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने पनि स्पष्ट गर्नुभयो।
“गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,” मन्त्री पोखरेलले भन्नुभयो, “विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ।”
भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार तथा शिक्षा प्रणालीलाई आधुनिक आवश्यकतासँग जोड्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।








