३१ बैशाख २०८३, बिहिबार
इप्पान निर्वाचन

इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्यो, भ्लोनको नेतृत्वमा टिम घोषणा

प्रकाशित मिति :  14 May, 2026 12:32 pm


काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ ।  आगामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषणा भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा भ्लोनले तीन वर्षे कार्यकालको भिजन र टिम घोषणा गरेका छन् ।  इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । उहाँको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ,  हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्टलाई अघि सारिएको छ । त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएको छ ।

कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ । त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् । भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ । उक्त भिजनमा मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।

उनका अनुसार सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ, जसका लागि ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ । यो महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ तर, यो लगानीका लागि विद्युत खरिद सम्झौता (पीपीए), प्रशारण लाइन र प्रशासनिक जटिलता गम्भीर चुनौतीका रुपमा छन् ।  आगामी वर्षहरुमा यी जटिलता फुकाउन पहल गर्ने उनले बताए । अहिले करिब १२ हजार मेगावाट भन्दा बढीका आयोजनाहरूको पीपीए रोकिएको अवस्थालाई खुलाउन पहल गर्ने पनि उनले बताए ।

भिजन २०२९ सार्वजनिक गर्दैै वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोनले भने,”नेपालको ऊर्जा क्षेत्र आज राष्ट्रिय अर्थतन्तको प्रमुख आधारका रूपमा स्थापित हुँदै गएको छ । निजी क्षेत्रको निरन्तर लगानी संघर्ष र प्रतिबद्धताकै कारण नेपाल लोडसेडिजमुक्त हुँदै ऊर्जा आत्मनिर्भरतातपो अधि बढेको छ र विद्युत निर्यात गर्ने राष्ट्रका रूपमा स्थापित हुने आधार तयार भएको छ । आज नेपालको कुल विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा माथि रहेको छ भने हजारों मेगावाटका आयोजना निर्माण वित्तीय व्यवस्थापन तथा अध्ययनको चरणमा रहेका छन् ।  ऊर्जा क्षेत्रमा भएको लगानीले बैंकिङ तथा वित्तीय क्षेत्रमा व्यापक पूँजी परिचालन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा दुर्गम क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । जलविद्युतसँगै सौर्य ऊर्जामा निजी क्षेत्रको बढ्दो सहभागिताले नेपालको ऊर्जा सुरक्षालाई थप मजबुत बनाउँदै लगेको छ । निजी क्षेत्रको यहीं योगदानले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गरेको छ । नेपाल सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अघि सारेको वर्तमान अवस्थामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण र निर्णायक बनेको छ,” ।

साथै, वन, वातावरण र प्रशासनिक प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गर्न र ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने माग भिजन पत्रमा उल्लेख छ ।

विद्युत् व्यापारको क्षेत्रमा नेपाललाई दक्षिण एशियाकै ऊर्जा केन्द्र बनाउने लक्ष्यका साथ भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कुटनीतिक पहल लिने भ्लोन नेतृत्वको टिमको भिजन पत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !