संघीयता सफल बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण आवश्यकः सांसद ढकाल
काठमाडाैँ । नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले अहिले पनि केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार दिन नसकेको टिप्पणी गरेका हुन् ।
उनले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताए । उनले स्थानीय तह र प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने प्रवृत्तिको अन्त्य नगरे वर्तमानजस्तै बहस तीन वर्षौसम्म दोहोरिरहने बताए ।
सांसद ढकालले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तीकारी कुरा गर्ने राजनीतिक संस्कारको अन्त्य गर्न जरुरी रहेको समेत बताए । उनले सत्तामा हुँदा देश र जनताको हितमा काम नगर्ने तर प्रतिपक्षमा गएपछि समाजलाई उत्तेजित बनाउने राजनीतिक रोगको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले सांसदहरू मुलुक र जनताको समस्या समाधान गर्न निर्वाचित भएर आएको स्मरण गराउँदै त्यसको गरिमा राख्न समेत सुझाव दिए ।








