१ श्रावण २०८२, बिहिबार

प्रतिनिधिसभाको बैठक आज ११ बजे : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

प्रकाशित मिति :  20 June, 2025 7:54 am


काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले प्रत्यक्ष रूपमा राख्ने प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सत्रको व्यवस्था गरिएको छ । सोही अनुसार आजको बैठकमा सांसदहरूले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीसँग प्रश्न राख्ने र प्रधानमन्त्रीले सोको जवाफ दिनेछन् ।

यसका साथै, आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ हुने कार्यसूची पनि बैठकको एजेन्डामा परेको छ । आजको बैठकमा छवटा मन्त्रालयको समूहीकृत रूपमा विनियोजनमाथि छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

छलफलमा समेटिएका मन्त्रालयहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; युवा तथा खेलकुद मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन् ।

सांसदहरूले यी मन्त्रालयहरूको बजेट, नीति, कार्यक्रम तथा कार्यक्षमताबारे धारणा राख्नेछन् भने सम्बन्धित मन्त्रीहरूले सोको जवाफ दिने कार्यसूची समेत तय गरिएको छ । आजको बैठकलाई प्रत्यक्ष राजनीतिक संवाद र बजेटीय बहसका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।



प्रतिक्रिया दिनुहोस !