१९ मंसिर २०८२, शुक्रबार

त्रिकोणात्मक टी–२० शृङ्खलाः नेदरल्याण्ड्सलाई हराउँदै नेपाल तालिकाको शीर्षमा

प्रकाशित मिति :  20 June, 2025 8:20 am


काठमाडाैँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको छ । ग्लासगोमा बुधबार सम्पन्न खेलमा १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर सहज जित निकालेको हो ।

यस जितसँगै नेपालले तीन खेलबाट ४ अंक जोड्दै समान अंक भए पनि नेट रनरेटका आधारमा नेदरल्याण्ड्सलाई पछि पार्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । अब नेपालले शृङ्खलाको अन्तिम तथा निर्णायक खेल आयोजक स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

भुर्तेलको अर्धशतक र आरिफको विस्फोटक इनिङ
नेपालको जीतमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेले । उनले दोस्रो विकेटका लागि भीम सार्कीसँग ५४ रनको साझेदारी गर्दै पारीको लय स्थापित गरे । अर्का ओपनर आसिफ शेख ६ बलमा ७ रनमा आउट भए ।

भीमले १६ बलमा २७ रन बनाए भने कप्तान रोहित पौडेल सात बलमा ५ रनमा आउट भए । मध्यक्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी १२ बलमा अविजित १६ रन बनाए भने लोकस बमले अन्त्यमा ४ बलमा १२ रन जोड्दै नेपाललाई सहज जित दिलाए । नेदरल्याण्ड्सका रोलफ भान डर, मर्वे बेन फ्लेचर, आर्यन दत्त र जाच लायन काचेटले समान एक–एक विकेट लिए ।

नेदरल्याण्ड्सको सानदार सुरुआत, तर मध्यमक्रम कमजोर
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो । ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ८६ रनको विस्फोटक पारी खेले ।

रोइलेफ भान डर मिर्भोले २१ बलमा ३६ रन, आर्यान दत्तले १८ बलमा १७ रन (नटआउट) बनाए भने सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे । तर अन्य ब्याटरहरू दोहोरो अंकमा रन बनाउन असफल रहे, जसले स्कोरलाई अपेक्षित उचाइमा पुर्याउन सकेन ।

नेपाली बलिङ सन्तुलित
नेपालका लागि करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे । नेपालले संयमित बलिङ गर्दै विपक्षीलाई रोक्न सफल भयो ।

अब नेपालले शृङ्खलाको अन्तिम खेल आगामी शुक्रबार स्कटल्याण्डविरुद्ध खेल्नेछ । उक्त खेल शृङ्खलाको निर्णायक बन्ने सम्भावना रहेको छ, जहाँ शीर्ष स्थान सुरक्षित गर्न नेपालले अर्को सशक्त प्रदर्शन गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !