१ श्रावण २०८२, बिहिबार

प्रधानमन्त्रीसँग निर्वाचनबारे आयोगको परामर्श : कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी

प्रकाशित मिति :  20 June, 2025 2:29 pm


काठमाडौँ । निर्वाचन आयोग, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा औपचारिक परामर्श गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त टोलीले आगामी निर्वाचन कार्यक्रमबारे जानकारी गराउँदै आवश्यक समन्वयका लागि सरकारको समर्थन माग गरेको हो ।

भेटका क्रममा आयोगले प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा रिक्त भएका पदहरूमा आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्नुपर्ने प्रस्ताव राखेको छ । आयोगले सरकारको परामर्शमा असार १६ भित्रै निर्वाचन मिति तोक्ने तयारी गरिरहेको जानकारी गराइएको छ ।

त्यस्तै, आयोगले राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानहरूमा निर्वाचन तय गर्ने प्रक्रिया अघि बढाइरहेको समेत जनाएको छ। साथै, आयोगले स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको जानकारीसमेत प्रधानमन्त्रीलाई गराएको छ।

प्रधानमन्त्री ओलीले आयोगको तयारी र परामर्शको सराहना गर्दै निर्वाचनका लागि आवश्यक सम्पूर्ण सहजीकरणमा नेपाल सरकार पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, उनले आगामी संवत् २०८४ को निर्वाचनका लागि पूर्वतयारी सुरुवात गर्न पनि आयोगलाई सुझाव दिएका थिए ।

भेटमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !