नेपालमा विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ । ‘योग मानव जीवनको आधार’ भन्ने सन्देशका साथ आज नेपालमा अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइँदै छ ।
विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवस नेपालमा पनि सरकारी तथा निजी क्षेत्र, योग केन्द्र, शैक्षिक संस्था र विभिन्न संघसंस्थाहरूको सहकार्यमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६९औँ महासभामा गरेको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहिलो समर्थन थियो ।
त्यसपछि युरोपियन युनियनसहित संयुक्त राष्ट्रका स्थायी सदस्य राष्ट्रहरूको व्यापक समर्थन प्राप्त भएको थियो । उल्लेखनीय कुरा के छ भने, संयुक्त राष्ट्रसंघले घोषणा गरेका दिवसमध्ये सबैभन्दा छोटो समयमै १७७ राष्ट्रको समर्थन पाएको दिवस यही हो ।
सन् २०१५ देखि विश्वभर मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि व्यापक रूपमा मनाउने परम्परा विकास भएको छ । यद्यपि, नेपालमा योग अभ्यास र प्रचारको इतिहास अझ पुरानो छ । विक्रम संवत् २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको सन्दर्भमा नेपालमै योग दिवस मनाउने परम्परा सुरु गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयमा हाल योग तथा प्राकृतिक चिकित्सा विषयमा ६ महिनाको पाठ्यक्रमसमेत सञ्चालनमा छ। वैदिक परम्पराअनुसार योग र ध्यानको अभ्यास हिमालय क्षेत्रमै ऋषिमुनिहरूद्वारा आरम्भ गरिएको मानिन्छ तर समयक्रममा लोप हुन थालेको योग परम्परालाई पुनः जागृत गर्ने उद्देश्यले दिवसको आवश्यकता महसुस गरिएको हो।
माघ १ गते विश्व योग दिवसका रूपमा मनाइँदै आएकोमा अन्तर्राष्ट्रिय योग दिवसको औपचारिक घोषणापछि सो मितिलाई राष्ट्रिय योग दिवस बनाउने पहल भएको थियो ।
त्यसअनुसार नेपाल सरकारले वि.सं. २०७२ साउन २८ गते तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ का रूपमा घोषणा गरेको थियो ।
उत्तरायण सुरु हुने मकर संक्रान्तिको दिनलाई योग र ध्यानका लागि विशेष मानिने भएकाले सोही दिन राष्ट्रिय योग दिवसका रूपमा कायम गरिएको हो । त्यसयता नेपालमा हरेक वर्ष माघ १ मा राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्परा कायम छ ।








