पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिनुपर्छ-मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक (पब्लिक) क्याम्पसहरूको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग पुनः दोहोर्याएका छन् ।
शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक संघ, लुम्बिनी प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा दिगो भविष्यका लागि पब्लिक क्याम्पसहरूको संरचनागत, नीतिगत र व्यवहारिक सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री आचार्यले भने, “हामीले बारम्बार संघीय सरकारसँग आग्रह गरेका छौँ कि पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिइयोस् । विद्यालय तह (कक्षा १२ सम्म) को जिम्मा स्थानीय तहलाई दिइएको छ, विश्वविद्यालय र आङ्गिक क्याम्पस संघसँग छन्। तर पब्लिक क्याम्पसहरू विचलित अवस्थामा छन्। हामीले जिम्मेवारी लिन तयार छौँ।”
उनले वर्तमान कानुनले प्रदेश सरकारलाई उच्च शिक्षा क्षेत्रमा स्पष्ट अधिकार नदिएको भन्दै शिक्षा ऐनको संशोधनले यो अन्योल हटाउने विश्वास व्यक्त गरे ।
सुधारका लागि कानुनी अड्चन हटाउनुपर्ने आवश्यकता
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पब्लिक क्याम्पसलाई अनुदान र सहायताको प्रयास गर्दै आएको भए पनि कानुनी अस्पष्टताका कारण समस्या आएको हो। “सुधार गरेर अगाडि बढ्न सकिन्छ,” उनले भने।
उनले सामुदायिक क्याम्पसहरूलाई ‘बेवारिसे’ बनाउन नचाहेको उल्लेख गर्दै यस्तो संस्थाहरू उच्च शिक्षामा पहुँच विस्तारका प्रमुख माध्यम भएको धारणा राखे । “ग्रामीण क्षेत्रमा उच्च शिक्षाको ज्योति फैलाउने काम पब्लिक क्याम्पसले गरिरहेका छन्। ती लाखौँ युवाका लागि शिक्षा प्रदान गर्ने आधार हुन्,” उनले भने ।
शैक्षिक गुणस्तरका लागि मर्जर नीति आवश्यक
मुख्यमन्त्री आचार्यले सामुदायिक क्याम्पसहरूको दिगो भविष्य सुनिश्चित गर्न मर्जर (गाभ्ने) नीति आवश्यक रहेको औँल्याउँदै गुणस्तरमा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले शिक्षा क्षेत्रमा अधिकारको खोजी गर्दै नीति निर्माण गरिरहेको जानकारी दिँदै भने, “शिक्षा क्षेत्रको विकासबिना समृद्ध लुम्बिनी प्रदेशको सपना पूरा हुँदैन।”
भेला पब्लिक क्याम्पस प्राध्यापक संघ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष युवराज रावतको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।








