प्रतिनिधिसभाको बैठक आज, विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत विनियोजन विधेयक अन्तर्गतका विभिन्न मन्त्रालय तथा कार्यालयका शीर्षकमाथिको छलफल जारी रहनेछ ।
सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन गरिएका बजेट शीर्षकमाथि छलफल हुनेछ ।
बैठकमा सांसदहरूले विभिन्न मन्त्रालय तथा कार्यालयको बजेट शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव समेत पेस गर्ने कार्यसूची रहेको छ । यस्ता प्रस्तावहरू सांसदहरूले सरकारको नीति तथा प्राथमिकतासम्बन्धी आलोचना वा सुझावसहित प्रस्तुत गर्ने प्रचलन रहँदै आएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिका सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त आधिकारिक पत्रको व्यहोरा पनि सभामुखले बैठकमा पढेर सुनाउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि असार १५ गते विनियोजन विधेयक संसद्मा पेश गरेको थियो । विधेयकमाथिको सामान्य छलफल सकिएपछि अब मन्त्रालयगत शीर्षकअनुसार क्रमशः छलफल अघि बढाइएको हो । प्रतिनिधिसभाले शीर्षकअनुसार छुट्टाछुट्टै छलफल गरी विधेयक पारित गरेपछि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ ।








