२० मंसिर २०८२, शनिबार

रास्वपा बैठकका निर्णय : नेतृत्व पुनःसंयोजनदेखि हस्ताक्षर अभियानसम्म

प्रकाशित मिति :  22 June, 2025 11:34 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पार्टी सुदृढीकरण, नेतृत्व पुनःसंयोजन र सुसंस्कृत राजनीतिको अभियानलाई प्राथमिकतामा राख्दै ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू आइतबार सार्वजनिक गरिएका हुन् ।

पार्टीले पछिल्ला राजनीतिक घटनाक्रमको गम्भीर समीक्षासहित लुटतन्त्रको विरोधमा अडान कायमै राख्ने प्रतिबद्धता दोहोर्याएको छ । संसदमा रास्वपाका सांसदहरूले उठाएका विषयलाई सराहना गर्दै पार्टी नेतृत्वले भविष्यमा पनि यथावत् धारणा प्रस्तुत गर्न निर्देशन दिएको छ ।

पार्टी नेतृत्वमा पुनःसंयोजन
रास्वपाले नेतृत्व तहमा नयाँ नियुक्तिहरू गर्दै संगठनात्मक पुनःसंयोजनलाई अगाडि बढाएको छ । सह–महामन्त्री विपिनकुमार आचार्यलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने प्रवक्तामा कार्यवाहक प्रवक्ता मनिष झा नियुक्त भएका छन् । साथै, अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा रवि किरण अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेअनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई औपचारिक रूपमा नियुक्त गरिएको छ। सचिवालयबाट पारित निर्णयहरूलाई समेत केन्द्रीय समितिले पूर्ण अनुमोदन गरेको छ।

सभापतिको सन्देश : ऐक्यबद्धता र सहकार्यको आह्वान
स्थापना दिवसका अवसरमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेको तर्फबाट शुभकामना सन्देश दिँदै सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कठिन समयमा पनि साथ दिँदै आएका सबैलाई एकढिक्का भई राष्ट्र निर्माणमा सक्रिय रहन अपिल गरे ।

साथै, पार्टीभित्र देखा परेका मतभेद, गुनासाहरूलाई भुल्दै समर्पण र ऐक्यबद्धताको भावनासहित एकजुट हुन उनले आग्रह गरेका छन्। पार्टी निर्माणको वास्तविक यात्रामा सबैको योगदान अपरिहार्य रहेको उनको भनाइ थियो ।

रवि लामिछानेविरुद्धको मुद्दामा राष्ट्रिय हस्ताक्षर अभियान
पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनमत निर्माण गर्न रास्वपाले राष्ट्रिय हस्ताक्षर अभियान सुरु गर्ने निर्णय गरेको छ । स्थापना दिवसको अवसरमा देशैभर आयोजना हुने विभिन्न कार्यक्रमहरूसँगै हस्ताक्षर संकलनलाई पनि व्यापक बनाइनेछ ।

पार्टीले जनस्तरमा अभियान फैलाउने र लामिछानेमाथिको मुद्दालाई जनदबाबमार्फत उजागर गर्ने रणनीति बनाएको छ । यस अभियानलाई राजनीतिक शुद्धताको आन्दोलनका रूपमा पनि अघि सारिने संकेत पार्टी स्रोतले दिएको छ ।

सम्पूर्ण निर्णयहरू सुसंस्कृत राजनीतिको मार्गमा
छ बुँदे निर्णयले पार्टीको सांगठनिक बलियो संरचना, लोकतान्त्रिक अभ्यास र जनउत्तरदायी राजनीति प्रति प्रतिबद्धता दर्शाउने पार्टीको प्रयत्न देखिएको छ। संस्थागत स्थायित्व, आन्तरिक एकता र स्पष्ट उद्देश्यका साथ अघि बढ्न रास्वपाले स्थापना दिवसलाई अवसरका रूपमा प्रयोग गरेको छ ।

यस निर्णयमार्फत रास्वपाले केवल नेतृत्व पुनःसंयोजन मात्रै होइन, समग्र राजनीतिक संस्कृतिमा फेरबदल ल्याउने आफ्नो धारणा पुनः पुष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !