१९ मंसिर २०८२, शुक्रबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ४०० शैय्याको हुने : २ अर्ब ७४ करोड ४१ लाखको बजेट पारित

प्रकाशित मिति :  22 June, 2025 3:10 pm


काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २ अर्ब ७४ करोड ४१ लाखको बजेट पारित गरेको छ ।

बैठकले प्रतिष्ठानअन्तर्गत दाङमा ४०० शैयाको शिक्षण अस्पताल निर्माण कार्य प्रारम्भ गरिएको जानकारी गराउँदै यस वर्षको नीति, कार्यक्रम तथा बजेटलाई पारित गरेको हो ।

शिक्षण, अनुसन्धान तथा व्यवस्थापनका क्षेत्रमा संस्थालाई अझै सुदृढ बनाउने उद्देश्यसहित विभिन्न नीति र कार्ययोजना स्वीकृत गरिएको बैठकमा जानकारी दिइयो ।

सभाले ‘शिक्षक तथा कर्मचारीको सेवा, शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानमा संशोधन गर्ने निर्णयसमेत गरेको छ । यस्तै, प्रतिष्ठानको आधिकारिक लोगोमा पनि परिवर्तन गर्ने निर्णय बैठकमा पारित गरिएको छ ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई स्वास्थ्य विज्ञानको आदि भूमिका रूपमा परिभाषित गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा सेवा दिने केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र जनशक्ति सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले “निरोगी नेपाल” को सोचलाई आत्मसात गर्दै जनस्तरसम्म स्वास्थ्य चेतना फैलाउन आमसञ्चार र सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी तथा विज्ञ चिकित्सकको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

बैठकमा सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

उपकुलपति डा. लामिछानेले पाँचौँ सिनेटबाट पारित चार सय शैय्याको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजनाको कार्यान्वयन सुरु भइसकेको जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ क्षेत्रको शैक्षिक, स्वास्थ्य सेवा र अनुसन्धानमा योगदान पुर्‍याउने दीर्घकालीन लक्ष्यका साथ हाल वर्षे योजना तर्जुमा गर्दै आएको छ । ४०० बेडको शिक्षण अस्पतालको निर्माण सम्पन्न भएपछि यो प्रतिष्ठान प्रदेश नं. ५ तथा मध्यपश्चिम क्षेत्रको प्रमुख स्वास्थ्य शैक्षिक केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !