२० मंसिर २०८२, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक आज : विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूचि

प्रकाशित मिति :  23 June, 2025 6:05 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, जबकि राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि तोकिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ र स्पष्टीकरण सम्बन्धित विभागीय मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको कार्यसूचीअनुसार वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ।

यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !