वनभित्रै रमाउने गरी वन्यजन्तुको संरक्षण गर्न सरकार प्रतिवद्ध छः मन्त्री ठकुरी
काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको बताएका छन् ।सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त हुँदा अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताएका हुन् ।
उनले वनभित्रै रमाउने गरी वन जन्तुको संरक्षण गर्न घाँसे मैदान र पानीको स्रोतको व्यवस्थापन जस्ता वासस्थानका सुधारका कार्यक्रमहरू राखिएको जिकिर गरे ।उनले वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण तथा वन पैदावारको निकासी नियन्त्रण जस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आएको बताए ।
उनले संरक्षित क्षेत्रभित्र हुने वन अतिक्रमण, वन डढेलो र वन स्रोत तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट कार्यान्वयन हुने गरी बजेटको पर्याप्त व्यवस्था गरिएको जानकारी दिए ।
उनले अर्थतन्त्रमा वनको योगदानको उल्लेख्य वृद्धि गर्न वनमा आधारित उद्योग, उद्यमशीलता, प्रकृतिमा आधारित पर्या–पर्यटनको विकासमा सहजीकरण गरिने बताए ।








