एसिसी यु–१६ इस्ट जोन कप : जापानमाथि नेपालकाे सानदार जित
काठमाडाैँ । मलेसियामा जारी एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी यात्रालाई निरन्तरता दिएको छ। प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै समूह ‘ए’ मा शिर्ष स्थान सुरक्षित गरेको छ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जापानले नेपाली बलरको घातक प्रदर्शनसँग जुझ्न सकेन। ३४.३ ओभरमै सबै विकेट गुमाउँदै मात्र ८० रनको झिनो योगफल बनायो।
नेपालका लागि शुभम् खनाल पाँच विकेटसहित चम्किए भने अभय यादवले दुई विकेट लिए। सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक–एक विकेट हात पार्दै जापानी ब्याटिङ लाइनलाई धराशायी बनाए।
जवाफमा नेपालले लक्ष्य सजिलै भेट्टायो। ओपनर शिवान्स बजगाईंले अविजित ३८ रनको उत्कृष्ट इनिङ्स खेले भने उनको साथमा प्रसिद्व जैसीले पनि अविजित ३३ रनको योगदान दिए। १४.२ ओभरमै लक्ष्य पार गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्यो।
यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो। लगातार दुई जितपछि चार अंकसहित नेपाल समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको छ।
प्रतियोगितामा नेपाल, जापान, भुटान, सिङ्गापुर र इण्डोनेसिया रहेको समूह ‘ए’ र आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेको समूह ‘बी’ गरी जम्मा १० टोली सहभागी छन्। नेपाल यसअघि सम्पन्न तीनवटै संस्करणको च्याम्पियन रहँदै प्रतियोगितामा बलियो इतिहास बोकेर मैदान उत्रिएको छ।
नेपालले अब समूह चरणको तेस्रो खेल यही असार १५ गते इण्डोनेसियासँग र चौथो खेल असार १७ गते भुटानसँग खेल्नेछ।
प्रतियोगितामा नेपालको प्रदर्शनले युवा क्रिकेटको सम्भावनालाई उजागर गर्दै घरेलु क्रिकेटप्रेमीलाई आशावादी बनाएको छ। बलिङमा धारिलो प्रदर्शन र ब्याटिङमा संयमित र दमदार सुरुवातले नेपाललाई उपाधि दावेदारको रूपमा स्थापित गराएको छ।








