१९ मंसिर २०८२, शुक्रबार
कृषककाे सफलताकाे कथा

स्वदेशमै सम्भावना, गाउँमै सफलता : आत्मनिर्भरताको प्रेरक कथा

प्रकाशित मिति :  24 June, 2025 3:25 pm



हुमा सुनार,
देउखुरी । सपना साकार पार्न शहर वा परदेश धाउनु आवश्यक छैन, हिम्मत, इमान्दार मिहिनेत र दृढ निश्चय भए आफ्नै गाउँघरमै पनि जीवन बदल्न सकिन्छ भन्ने प्रेरणा दाङको देउखुरीका कृषक शिशिर पोखरेल र शारदाकुमारी आचार्य बनेका छन् ।

देशमा अवसर छैन भन्ने गुनासो सामान्यजस्तै बनिसकेको बेला दुई कृषकले त्यस गुनासोलाई उदाहरणका रुपमा जवाफ दिएका छन् ।

बैदेशीक रोजगारीका क्रममा विशेषमा भोगेको पीडा र संगालेको अनुभवबाट राजपुर गाउँपालिका २ का शिशिरले स्वदेशमै भैँसी पालन व्यवसायबाट पारिवारिक लालनपालन मात्र गरेका छैनन्–मिहिनेत र परिश्रम भयो भने स्वदेशमै अर्थोपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

मलेसियामा पसिना बगाएका शिशिरलाई बैदेशीक जीवन कठिनाइपूर्ण मात्र भएन, तलबले न त जीवन चलाउन पुग्थ्यो, न त मनमा सन्तुष्टि नै मिल्यो अनि स्वदेश फर्किएर भैँसीपालन व्यवसाय सुरु गरे ।

“मलेसियामा जति पसिना बगाए पनि तलबले न त जीवन चलाउन पुग्थ्यो, न त मनमा सन्तुष्टि नै मिल्यो अनि स्वदेश फर्किएर भैँसीपालन व्यवसाय सुरु गरँे”, शिशिरले भने, “स्वदेशको मिहिनेत र परिश्रमले सम्मानित जीवन दिएको छ । आफ्नै परिवारसँग आफ्नै गाउँमा काम गर्दा मिल्ने सफलताको कुनै तुलना गर्न सकिदैन ।”

थोरै पूँजीमा पाँचवटा भैँसी किनेर सुरु गरेको उनको व्यवसायमा अहिले २५ भैँसी र १५ पाडापाडीसहित ४० वटा पुगेका छन् । दैनिक आम्दानी ५ हजार रुपैयाँ आम्दानी गरिरहेका शिशिरले व्यवसायलाई बढाएर लैजाने योजना बनाएका छन् । “देशमै केही गर्न सकिन्छ भन्ने प्रमाण म आफै हुँ”, गर्वसाथ शिशिर भन्छन् ।

त्यस्तै राप्ती गाउँपालिका वडानम्वर ३ की शारदा आचार्य पनि भैँसीपालन व्यवसायबाट व्यवसायीको परिचय बनाएकी छिन् । २०५७ सालमा ५०० वटा कुखुराबाट व्यवसाय सुरु गरेकी शारदाका लागि कोभिड दुष्मन बिनदियो । “कुखुरापालन व्यवसाय राम्रो चलिरहेको थियो तर कोरोना महामारीले आर्थिक झड्का दियो । व्यवसाय चौपट भयो”, शारदाले भनिन्, कोभिडबाट थलिएको कुखुरापालन व्यवसायको घाटा भैँसीपालनबाट पूर्ती गरेकी छु ।”

दुई–तीन वटा भैँसीबाट नयाँ व्यवसायिक अध्याय सुरु गरेकी शारदाको गोठमा १६ वटा भैँसी छन्, जसबाट दैनिक २ हजार रुपैयाँ अर्थात् मासिक ६०–७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छिन् । शारदा भन्छिन्, “सुरुमा रातरातभर निद्रा लाग्दैनथ्यो, चिन्ता हुन्थ्यो तर अहिले त्यही मिहिनेतको मीठो फल पाइरहेकी छु ।”

शिशिर र शारदा उदाहरण मात्र हुन् । उनीहरुजस्ता धेरै कृषकहरु संघर्ष र सफलताका उदाहरण बनेका छन् । उनीहरूको अनुभवले प्रमाणित गर्छ–देशमै आत्मनिर्भर बन्न सकिन्छ, यदि इच्छाशक्ति, धैर्य र निरन्तरता भए ।

गाउँमा उत्पादित दूध, दही, घिउ, पनिर आदि गाउँलेहरूको भान्सासम्म पु¥याइरहेका यी पात्रहरूले केवल व्यवसाय गरेका छैनन्, समुदायमा विश्वास, आत्मबल र आत्मनिर्भरता फैलाइरहेका छन् ।

स्थानीय युवाहरूका लागि उनीहरू अब ‘प्रेरणा’ शब्दका जीवित उदाहरण बनेका छन् । गाउँकै युवा गणेश सुनार भन्छन्, “उहाँहरूको संघर्ष देख्दा लाग्छ, केही गर्न परदेश जानैपर्दैन । मिहिनेत गर्ने हो भने गाउँमै सुन फल्छ ।”

अब सवाल उठ्छ-यस्ता उद्यमशील प्रयासहरूलाई स्थानीय तह, सहकारी संस्था, कृषि सेवा केन्द्रहरूले कसरी थप सशक्त र दिगो बनाउन सक्छन् ? शिशिर र शारदाको सफलताको कथा देशका हरेक गाउँघरमा पुनः दोहोरिन सक्ने सम्भावना बोकेको छ–यदि नीति, समर्थन र प्रेरणाको सहकार्य मिल्न सके ।



प्रतिक्रिया दिनुहोस !