२० मंसिर २०८२, शनिबार

दाहालको गुनासो : समितिबाट पारित विधेयक कार्यसूचिबाट हटाइनु चिन्ताजनक

प्रकाशित मिति :  25 June, 2025 3:11 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय संसद्का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समितिबाट सर्वसम्मत रूपमा पारित भई संसदको कार्यसूचिमा राखिएका विधेयकहरू हटाइनु राम्रो संकेत नभएको टिप्पणी गरेका छन् ।

बुधबार बसेको संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले विधेयक संसदीय समितिमा व्यापक छलफल र अध्ययनपछि पारित भए पनि संसदको पूर्ण बैठकको कार्यसूचिमा पुगेपछि त्यसमा चलखेल हुने गरेको गुनासो गरे।

उनले भने, “हामी समितिमा बस्छौं, छलफल गर्छौं, माननीय सदस्यहरूले अध्ययन गरेर चिन्तन–मनन गरेर विधेयक पारित गर्छौं । कोही सर्वसम्मतले, कोही बहुमतबाट पारित हुन्छन् तर ती विधेयक पूर्ण बैठकको कार्यसूचिमा पुग्दासम्म विभिन्न प्रकारका चलखेल हुने गरेका छन् ।”

दाहालले समितिबाट सदनमा सिफारिस भएर कार्यसूचिमा चढिसकेका विधेयक पनि हटाउने प्रवृत्तिले संसदप्रति जनताको विश्वास खस्किने चेतावनी दिए । उनले विशेष गरेर संवेदनशील र दीर्घकालीन प्रभाव पार्ने विधेयकहरू कार्यान्वयन नहुँदा मुलुकको नीति निर्माण प्रक्रिया प्रभावित हुने बताए ।

“देशको वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा केही अत्यन्त संवेदनशील र महत्वपूर्ण विधेयकहरू, जसलाई हामीले समय दिएर, विचार गरेर, मेहनत गरेर अघि बढाएका थियौं, ती विधेयकहरू कार्यसूचिमा चढेर पनि हटाइनेजस्ता घटनाले मलाई चिन्तित तुल्याएको छ,” उनले भने ।

दाहालले सरकारसँग विधेयकको प्रभावकारी कार्यान्वयनका लागि अधिक समझदारी आवश्यक रहेको धारणा व्यक्त गरे। उनका अनुसार, राजनीतिक समन्वयमार्फत विधेयकहरू छिटो ऐनमा परिणत गर्ने बाटो खोलेर मात्रै राजनीतिक स्थायित्व र जनअपेक्षा पूरा गर्न सकिन्छ ।

उनले संसदभित्रको प्रक्रियालाई निष्पक्ष र विधिसम्मत बनाउन सबै दलहरूबीच पारदर्शिता र सहकार्य हुनुपर्नेमा जोड दिए ।पछिल्लो समय संसदमा महत्वपूर्ण विधेयकहरू समयमै पारित नहुनु, कार्यसूचिबाट हटाइनु वा अनिश्चितकालका लागि रोकिनुजस्ता घटनाले विधायिकाको कार्यक्षमतामाथि प्रश्न उठाउन थालेका छन्। दाहालको आजको अभिव्यक्तिलाई यसै सन्दर्भमा एक गम्भीर चेतावनीका रूपमा लिइएको छ।



प्रतिक्रिया दिनुहोस !