१९ मंसिर २०८२, शुक्रबार

नेपालको यू–१६ टोलीको धमाकेदार प्रदर्शन : इन्डोनेसियामाथि ३७० रनको ऐतिहासिक जित

प्रकाशित मिति :  29 June, 2025 3:11 pm


काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरले जित दर्ता गर्दै प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४२० रनको विशाल स्कोर खडा गर्‍यो । जवाफमा इन्डोनेसियाले २४.३ ओभरमा जम्मा ५० रनमै समर्पण गर्दै नेपाललाई सानदार जित दियो ।

नेपालका कप्तान विपिनप्रसाद शर्माले धारिलो बलिङ प्रदर्शन गर्दै ७.३ ओभरमा २ मेडन राख्दै मात्र १२ रन खर्चेर ६ विकेट झारे । उनको घातक बलिङकै कारण इन्डोनेसियाको इनिङ धरासायी भयो। साथै शुभम् खनाल र सुगम बुढाथोकीले एक/एक विकेट लिँदै नेपाललाई जित नजिक पुर्याए ।

ब्याटिङमा ऐतिहासिक प्रदर्शन
नेपालको ब्याटिङ तर्फ प्रसिद्ध जैसीले आकर्षक शतक प्रहार गर्दै १३२ रनको योगदान दिए । ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरेका प्रसिद्धले इनिङको मेरुदण्डको भूमिका निर्वाह गरे । त्यस्तै, परिमार्जन यादवले आक्रामक शैलीमा २८ बलमै ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रन जोडे ।

रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ८८ रन बनाए भने जय थापाले ४१ बलमा ७ चौकासहित ५७ रन बनाउँदै टोलीको स्कोर बलियो बनाइदिए । अन्त्यतिर सुगम बुढाथोकी (नटआउट ३९ रन) र रोशन शाही (नटआउट १० रन) ले पारी सन्तुलित रूपमा टुंग्याए ।

समूह तालिकामा नेपाल शीर्षमा
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानमाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो । लगातार तीन जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा ६ अंकसहित अग्रस्थानमा छ ।

नेपालले अब समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्नेछ । यस प्रतियोगितामा नेपालको बलियो प्रदर्शनले उपाधिका लागि आशा जगाएको छ ।

क्रिकेट विश्लेषकहरूले नेपाल यू–१६ टोलीको प्रदर्शनलाई भविष्यमुखी क्रिकेटका लागि उत्साहजनक संकेतका रूपमा लिएका छन्। युवा खेलाडीहरूको सशक्त उपस्थितिले नेपाली क्रिकेटको आधार बलियो बन्दै गएको छ।



प्रतिक्रिया दिनुहोस !