१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनको प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  30 June, 2025 7:18 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा बदली रहनुका साथै विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको हो ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि प्रकट गरिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

रातिसमेत भारी वर्षाको सम्भावना
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा केही स्थानहरूमा र बाँकी भू–भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

सतर्कता अपनाउन आग्रह
मौसम विभागले भारी वर्षाका कारण पहिरो, बाढी, नदीको जलस्तर वृद्धि र सडक अवरुद्धजस्ता जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय प्रशासन र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

हिमाली भेगमा हिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रका यात्रु र बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । मनसुन सक्रिय भएसँगै आगामी दिनमा पनि वर्षाको क्रम जारी रहने भएकाले दैनिक मौसम जानकारी लिइरहन मौसम विज्ञहरूले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !