१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  1 July, 2025 8:23 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको तुलनामा केही उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले औँल्याएको छ ।

आज रातिको मौसम पनि पूर्णरूपमा स्थिर नरहने देखिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनुका साथै बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

यी क्षेत्रहरूका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा राति पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ । महाशाखाले बाढीपहिरोको जोखिमका साथै सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !