राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूची अनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गतका विभिन्न शीर्षकमाथि महत्वपूर्ण छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयसहित सात मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल गरिनेछ ।
त्यस्तै, ११ मन्त्रालयसम्बन्धी अघिल्लो छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ । यस विधेयकलाई लिएर विभिन्न दलबीच मतभेद भइरहेका बेला उक्त सन्देश टेबुल गरिन लागिएको हो ।
त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ पनि आजको बैठकबाट पारित गरिने सम्भावना रहेको सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरूबारे पनि सभालाई जानकारी गराइने कार्यसूचीमा उल्लेख छ । राष्ट्रियसभाको यो बैठक बजेट सत्रअन्तर्गत निरन्तर छलफलका चरणमा रहेको हो ।








