१९ मंसिर २०८२, शुक्रबार

नेपाल समूह विजेता बन्दै एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा

प्रकाशित मिति :  1 July, 2025 2:04 pm


काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै समूह चरणको सबै खेलमा विजयी बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै अपराजित रहँदै समूह विजेता बनेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रनको विशाल योगफल तयार गर्‍यो । नेपालको जितमा कप्तान रौनक श्रीवास्तवले उत्कृष्ट शतक प्रहार गरे । उनले १३२ बलमा १६८ रन बनाए ।

यस्तै, जोए थापाले ६७ बलमा अविजित ६१ रन जोड्दा श्रीवांश बजगाईंले ५४ तथा सुगम बुढाथोकीले ३५ रनको योगदान गरे। प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए ।

जवाफमा ३५९ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको भुटानी टोली २२ ओभरमै मात्र ६० रनमा अलआउट भयो। नेपाली बलिङ आक्रमणसमक्ष भुटानी ब्याट्सम्यानहरू टिक्न सकेनन् ।

नेपालका लागि विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ६ मेडन राख्दै मात्र ७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए ।

यसअघि समूह चरणमा नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई पराजित गर्दै उत्कृष्ट लय कायम राखेको थियो । लगातार चार खेलमा जित हात पार्दै नेपाल समूह ‘ए’ बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब नेपालले जुलाई ३ तारिखमा हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको लय, आत्मविश्वास र प्रदर्शन हेर्दा यस प्रतियोगिताको बलियो दाबेदारका रूपमा नेपाल उभिएको छ ।



प्रतिक्रिया दिनुहोस !