एसईई २०८१ मा गोरखा मोडेलको चमक : देउखुरीमा पहिलो स्थानमा
लक्ष्मी पाेखरेल
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै विद्यालयकाे नतिजाकाे समीक्षा सुरु भएकाे छ । यसैक्रममा गोरखा मोडेल माध्यमिक विद्यालय देउखुरीकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ ।
देउखुरीको लमहीमा रहेको सो विद्यालयले संस्थागत विद्यालयतर्फ ९४.४ प्रतिशत सफलता दर कायम गर्दै देउखुरीमै पहिलो स्थान हासिल गरेको हो ।
विद्यालयबाट कूल १२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ११८ जना सफल भएका छन् । विशेष उल्लेखनीय त मिलन खनालको नतिजा रह्यो, जसले ४.० जिपीए प्राप्त गर्दै व्यक्तिगत रूपमा पनि विद्यालयको प्रतिष्ठा बढाए ।
सो उपलब्धिलाई उत्सवमय बनाउँदै विद्यालयले आइतबार एक विशेष कार्यक्रम आयोजना गरेर उत्तीर्ण विद्यार्थीहरू, उनीहरूका अभिभावक तथा शिक्षकहरूलाई सम्मानित गरेको छ ।
शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार जइन्द्र इङ्लिस बोर्डिङ स्कुलले ९३.३३ प्रतिशत सफलता दरसहित दोस्रो स्थान प्राप्त गरेको छ ।
सो विद्यालयका ३० जना सहभागीमध्ये २८ जना उत्तीर्ण भएका थिए । त्यस्तै, देउखुरी पब्लिक स्कुल ९२.८६ प्रतिशतसहित तेस्रो स्थानमा रह्यो। सो विद्यालयबाट १४ जनाले परीक्षा दिएकोमा १३ जना सफल भए ।
रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले ९२.३१ प्रतिशत, ज्योतिष्मती विद्यापीठले ९०.४८ प्रतिशत र सनलाइट मोर्डन सेकेन्डरी स्कुलले ८७.५ प्रतिशत सफलता दर कायम गरेका छन् । राप्ती ग्यालेक्सी बोर्डिङ स्कुलले ६५.३८ प्रतिशत सफलता दर हासिल गर्दा स्कुल अफ स्टीम एजुकेशन सबैभन्दा कम ५३.८५ प्रतिशतमा सीमित भयो ।
यसैबीच, सनलाइट मोर्डन स्कुलकी जेसिका शर्मा र पब्लिक एजुकेसन एकेडेमी लालमटीयाकी एक छात्राले पनि ४.० जिपीए ल्याएर विद्यालयको गौरव बढाएका छन् ।
यसपटकको नतिजाले लमही नगरभित्रको शिक्षा क्षेत्रलाई एक किसिमको संकेत दिएको छ-गुणस्तरमा लगानी गर्नेहरू अघि बढ्दैछन् भने सुधार नगर्नेहरू पछि परिरहेका छन् ।
प्रतिस्पर्धी वातावरणमा टिक्न र विद्यार्थीको भविष्य उज्यालो बनाउन विद्यालयहरूले परिणाममाथि गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ ।








