१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा अब्बल बन्दै चैतन्य पाठशाला

शिक्षामा नवीनता, व्यवहारिकता र समावेशी पहुँचको संयोजन
प्रकाशित मिति :  1 July, 2025 5:01 pm


लक्ष्मी पाेखरेल,
देउखुरी ।
शिक्षा अब पाठे रटानको नाम मात्रै रहेन, किताबका पाना पल्टाउँदै सर्टिफिकेट थमाउने प्रक्रियाभन्दा धेरै माथि उठिसकेको छ । अब शिक्षा त्यो हो, जसले विद्यार्थीको भित्री कौशललाई बाहिर ल्याउँछ, प्रयोगशालामा खोज्न सिकाउँछ र समाजसँग जोडिन्छ। यस्तै सोच र संकल्प बोकेको छ-लुम्बिनी प्रदेशकाे राजधानी स्थल राप्ती उपत्यकाको मौरिघाटमा अवस्थित चैतन्य पाठशाला ।

जीवराज आचार्य, एमडी चैतन्य पाठशाला

आधुनिक शिक्षण पद्धति, समावेशी पहुँच र अनुशासित वातावरणको संयोजनसहित विद्यालय जिल्लाकै उत्कृष्ट शिक्षालय बन्ने यात्रामा अग्रसर रहेकाे एमडी जीवराज आचार्यले जानकारी दिए ।

“राजधानी क्षेत्रमा आधुनिक शिक्षण पद्धतिसहितकाे व्यवस्थित शिक्षालयका रुपमा चैतन्य पाठशालालाई स्थापित गर्न लागिपरेका छाैँ । युग सुहाउँदाे शिक्ष प्रदान गर्ने लक्ष लिएका छाैँ”, एमडी आचार्यले भने ।

चैतन्य पाठशालाले विज्ञान, व्यवस्थापन, मानवीकी तथा कानुन संकायमा कक्षा ११ र १२ का कक्षाहरु सञ्चालन गरिरहेकाे भन्दै प्रिन्सिपल शुस्मा रेग्मीले पाठशालाले शिक्षामा गुणस्तर र सुविधा दुवैलाई सँगै अघि बढाउने लक्षसहित विद्यार्थीको समग्र विकासमा केन्द्रित वातावरण प्रदान गर्दै आएको बताइन् ।

उनले भनिन्, “चैतन्य पाठशालाले शिक्षामा गुणस्तर र सुविधा दुवैलाई सँगै अघि बढाउने लक्षसहित विद्यार्थीको समग्र विकासमा केन्द्रित वातावरण प्रदान गर्दै आएको छ ।” पाठशालाले परियाेजनामा आधारित शिक्षण पद्धतिलाई लागु गरेकाे भन्दै प्रिन्सिपल रेग्मीले व्यक्तित्व विकासमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर शिक्षाको गुणस्तरमा निरन्तर सुधार गरिरहेको बताइन् ।

१. शिक्षा पद्धतिमा नवप्रवर्तन
चैतन्य पाठशालाले आफ्नो शिक्षण प्रणालीलाई परम्परागत किताबी ज्ञानमा सीमित नराखी, व्यवहारिक र अनुभवमूलक सिकाइमा आधारित बनाएको प्रिन्सिपल रेग्मीले बताइन् । उनका अनुसार विद्यार्थीहरूलाई समूहमा काम गर्न सिकाउने, समस्या समाधान गर्ने क्षमता बढाउने, अनुसन्धान गर्न उत्प्रेरित गर्ने र परियोजना निर्माणको माध्यमबाट विषय बुझाउने यो विधि नेपालमा विस्तार हुँदै गएको छ। चैतन्य पाठशालाले यस विधिलाई माध्यमिक तहबाटै कार्यान्वयनमा ल्याएर शिक्षामा नवप्रवर्तनको पहलकदमी लिएको भन्दै उनले विद्यार्थीहरूलाई केवल परीक्षामै होइन, जीवनमा पनि सक्षम बनाउने दाबी गरिन् ।

२. सुविधा सम्पन्न शैक्षिक संरचना
भौतिक पूर्वाधार शिक्षाको स्तम्भ हो र चैतन्य पाठशालाले यस पक्षमा समेत विशेष ध्यान दिएको जनाएकाे छ। विद्यालयको आकर्षक र सुविधासम्पन्न भवनमा हरेक तहका विद्यार्थीको आवश्यकता सम्बोधन गर्ने संरचना निर्माण गरिएको एमडी आचार्यले जानकारी दिए । उनका अनुसार विज्ञान विषयमा प्रयोगात्मक अध्ययनका लागि अत्याधुनिक विज्ञान प्रयोगशाला उपलब्ध हुनुका साथै प्रविधिको प्रयोगमा दक्ष बनाउन ICT प्रयोगशालाबाट कम्प्युटर, इन्टरनेट र डिजिटल सामग्रीको प्रयोग गरिन्छ।

पुस्तकालयमा पर्याप्त पाठ्यपुस्तक, सन्दर्भ सामग्री, पत्रिका र अनुसन्धानात्मक स्रोतहरू रहेका छन्, जसले आत्मनिर्भर अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्ने उनकाे भनाइ छ।

३. खेलकुद र अतिरिक्त क्रियाकलापमा ध्यान
शिक्षा केवल किताबसम्म सीमित नराखी समग्र व्यक्तित्व विकासमा केन्द्रित हुनुपर्छ भन्ने मान्यताका साथ चैतन्य पाठशालाले खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्तिकै जोड दिएको जनाएकाे छ । विद्यालयले खेलकुद प्रशिक्षण, अन्तरकक्षा तथा अन्तरविद्यालय प्रतियोगिता, शारीरिक तन्दुरुस्ती कार्यक्रम, ध्यान र योग अभ्यासहरू सञ्चालन गर्दै आएको पिन्सिपल रेग्मीले जानकारी दिइन् । उनका अनुसार वादविवाद, वक्तृत्वकला, नृत्य, संगीत, नाटक, चित्रकला जस्ता क्रियाकलापहरू पनि विद्यार्थीको सृजनात्मकता अभिव्यक्त गर्ने माध्यमका रूपमा सञ्चालन गरिन्छ। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, नेतृत्वदक्षता र सामाजिक सहभागिता बढाउँछ ।

४. समावेशी शुल्क संरचना
‘शिक्षा सबैका लागि’ भन्ने नारालाई व्यवहारमा उतार्न चैतन्य पाठशालाले शुल्क संरचना सबै वर्गका अभिभावकले धान्न सक्ने गरी निर्धारण गरेको जनाएकाे छ। उच्च गुणस्तरीय शिक्षा सस्तोमा उपलब्ध गराउने सोचले गर्दा यो पाठशाला विभिन्न सामाजिक–आर्थिक पृष्ठभूमिका विद्यार्थीका लागि उपयुक्त गन्तव्य बनेको पाठशालाकाे दावी छ । छात्रवृत्ति तथा सहुलियतको व्यवस्था पनि छ, जसले शिक्षाको पहुँच विस्तारमा सहयोग पुर्‍याएको छ । गरिब, विपन्न, महिला र पिछडिएको वर्गका विद्यार्थीलाई प्राथमिकतामा राखेर छुट कार्यक्रम लागू गरिएको विद्यालयको सामाजिक उत्तरदायित्व प्रतिबिम्बित हुन्छ।

५. अनुभवी टिम र क्यारियर काउन्सेलिङ
शिक्षक कुनै पनि शिक्षण संस्थाको मेरुदण्ड हुन् र चैतन्य पाठशालाको मेरुदण्ड अत्यन्त सुदृढ छ । यहाँ विषयमा दक्ष, अनुभवी र प्रेरणादायी शिक्षक टोलिले अध्यापन गर्छन् । शिक्षणका अतिरिक्त शिक्षकहरूले विद्यार्थीलाई जीवन सीप, समय व्यवस्थापन, अध्ययन रणनीति, नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वमा पनि मार्गदर्शन गर्छन् । साथै, कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर नियमित रूपमा क्यारियर काउन्सेलिङ, प्रतियोगितात्मक परीक्षाको तयारी र शिक्षा मेलाहरू आयोजना गरिन्छ, जसले विद्यार्थीलाई भविष्यनिर्माणमा सहजीकरण गर्छ।



प्रतिक्रिया दिनुहोस !