१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी प्रभाव : केही ठाउँमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  2 July, 2025 7:16 am


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर सामान्य बदली रहने तथा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम पनि बढ्न सक्ने भएकाले महाशाखाले सवारीसाधन, यात्रा, खेतीपाती तथा अन्य जनजीवनमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आगामी केही दिन पनि देशभर वर्षा हुने क्रम यथावत् रहने जनाउँदै स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई सतर्क रहन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !